प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : तपाईँकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छ ।

मंगलबार सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँग नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको छलफलका क्रममा उपसभापति गुरुङले जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्तामा ‘निर्वाचन हुन दिँदैनौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै यसले सरकार साँच्चिकै निर्वाचन गराउन प्रतिबद्ध छ कि छैन भन्ने प्रश्न उठाएको बताए ।

उनले निषेधको राजनीति र निषेधको मानसिकताबाट निर्वाचन सम्भव नहुने स्पष्ट पारे । पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि राजनीतिक दललाई यात्रामै रोक्ने प्रयास भए निष्पक्ष निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । कांग्रेस लोकतान्त्रिक दल भएकाले कसैको मताधिकार खोसिन नदिन दृढ रहेको उनले बताए ।

उपसभापति गुरुङले भने, ‘कसैले कसैलाई निषेध गरेर निर्वाचन सम्पन्न हुन सक्दैन । सरकार कुनै पनि कुनाकाप्चामा आशंका उब्जिने गरी होइन, प्रश्न नउठ्ने ढंगले अघि बढ्नुपर्छ । सबै राजनीतिक दल सहभागी हुने वातावरण बन्यो भने मात्र निर्वाचन सम्भव हुन्छ । १० बुँदे सम्झौता गर्नेहरूकै तर्फबाट मसी सुक्न नपाउँदै ‘निर्वाचन हुन दिँदैनौँ’ भन्ने कुरा आइरहेको छ, यसले आशंका झन् बलियो बनाएको छ । यहाँहरुको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो ।’

उनले विध्वंस, मतपत्र च्याताच्यात र भयको वातावरण कांग्रेसले नचाहेको उल्लेख गर्दै मतदाता कसै पनि मतदानको अधिकारबाट वञ्चित हुनु नहुने बताए । अन्तरजिल्ला मतदान र विदेशमा रहेका नेपालीको मतदान जस्ता विषयमा पनि गम्भीर छलफल हुनुपर्ने उनको भनाइ थियो ।

उपसभापति गुरुङले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने स्पष्ट गर्दै सरकार अझै निर्वाचनको अनुकूल वातावरण बनाउन असफल भएको आरोप लगाए । निर्वाचनका लागि शान्ति–सुरक्षा पहिलो सर्त भएको उल्लेख गर्दै उनले सरकारले भयमुक्त वातावरण सुनिश्चित गर्न नसकेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?