फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन : सञ्चारमन्त्री खरेल

लोकपथ
112
Shares

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् ।

सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा निरीक्षण तथा वार्ताका लागि पुगेका मन्त्री खरेलले जेनजी जनआन्दोलनबाट बनेको सरकारलाई निर्वाचन गराउने स्पष्ट जनादेश प्राप्त भएको भन्दै सोही म्याण्डेटअनुसार तोकिएकै मितिमा चुनाव गर्नुपर्ने बताए ।

उनले निर्वाचन समयमै सम्पन्न गर्न सरकार विभिन्न राजनीतिक दल र सर्वपक्षीय संवादमा सक्रिय रहेको जानकारी दिँदै राजनीतिक संवाद समितिले सबै दलसँग छलफललाई निरन्तरता दिने बताए । आन्दोलनका क्रममा भएको क्षतिबारे निरीक्षण तथा वार्ता सहजीकरणका लागि तीन सदस्यीय सरकारी वार्ता टोली गठन गरिएको पनि उनले बताए ।

मन्त्री खरेलले भने, ‘जेनजी जनआन्दोलनपछि हामीले फागुन २१ मा निर्वाचन गर्नुपर्ने स्पष्ट म्याण्डेट पाएका छौँ । सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने अभियानसहित यो सरकार अघि बढेको छ । चुनाव सुनिश्चित गर्न सबै राजनीतिक दलसँग निरन्तर संवाद गरिरहेका छौँ ।’

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान विषम परिस्थितिमा निर्वाचन नै एक मात्र निकास भएको बताए । उनले स्थायित्वका लागि निर्वाचन थप ढिलो गर्न नहुने उल्लेख गर्दै राजनीतिक दलहरूले पनि जिम्मेवार भएर समाधानतर्फ सोच्नुपर्ने बेला आएको धारणा राखे ।

उनले निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग सरकारका तर्फबाट गर्न तयार रहेको पनि स्पष्ट पारे ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिमा कानूनमन्त्री सिन्हा संयोजक रहेका छ भने सञ्चारमन्त्री खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?