बन्द हुँदैछ नियोसिया भ्यानको आयात, पार्टस र वारेन्टी नपाउने जोखिम

लोकपथ
217
Shares

काठमाडौं । एम्बर मोटर्सको नामबाट नेपालमा भित्राइएको नियोसिया ब्रान्डको प्यासेन्जर भ्यान एक लट मात्रै ल्याएर बन्द गर्ने तयारी भएको छ । सिजी मोटर्सको केवाइसीलाई काउन्टर दिन ल्याइएको नियोसिया भ्यान एक लट मात्रै ल्याएर बन्द गर्न लागिएको हो ।

नेपालमा नियोसिया भ्यानको आधिकारिक आयातकर्ता रहेको एम्बर मोटर्सका जिएम दिनेशराज पाण्डेका अनुसार नियोसिया भ्यानको आयात अब नहुने भएको छ । सिजी मोटर्सबाट केवाइसी भ्यान खोसेको भान्जा समूहको योजनामा ल्याइएको नियोसिया भ्यान एक लट मात्रै आयात गरी अब बन्द गर्न लागिएको हो । केवाइसी ब्रान्डको भ्यानको आयात सिजी मोटर्सबाट इलेक्ट्रिक ड्रिम्स मोबिलिटीले पाएपछि अब नियोसिया ब्रान्डको भ्यानको आयात भने रोक्न लागिएको हो ।

एम्बर मोटर्सले आयात गरेको नियोसिया भ्यान

नेपालमा चिनियाँ प्यासेन्जर भ्यानको प्रमुख आयातकर्ता रहेको सिजी मोटर्सको स्वामित्वमा रहेको केवाइसी भ्यान त्यहीँ सिइओ रहेका हेमन्त अग्रवालको समूहले खोसेर लगेको थियो । सिजी मोटर्सका मालिक विनोद चौधरीका भान्जा रहेका अग्रवालले कमिसन नपाएपछि आफ्नै मामाको कम्पनीबाट डिलरसीप खोसेर आफ्नो समेत लगानी रहेको इलेक्ट्रिक ड्रिम्स मोबिलिटीमा ल्याएका थिए ।

नियोसिया भ्यानका आयातकर्ता हेमन्त अग्रवाल ।

तर यस विषयमा अदालतमा मुद्दा परेपछि हेमन्तको समूहले केवाइसीकै नक्कली भर्सन नियोसिया ब्रान्डको प्यासेन्जर भ्यान एम्बर मोटर्सका नाममा आयात गरी करिब २ सय थान विक्री गरिसकेको छ ।

एम्बर मोटर्सले नियोसियाको ४ सय थान नियोसिया भ्यानको अर्डर गरेको भएपनि २ सय थान मात्रै काठमाडौं आइपुगेको थियो । यद्यपि उक्त भ्यानको आयात र विक्रीमा समेत अदालतले सुरुमा रोक लगाइदिएको कारण विक्री वितरण गर्न पाएको थिएन । अहिले भने उच्च अदालतबाट मुद्दा जितेर नियोसिया प्यासेन्जर भ्यानको विक्री वितरण खुला भई एम्बर मोटर्सले विक्री गरिरहेको छ ।

एम्बर मोटर्सले आयात गरेको नियोसिया भ्यान

तर केवाइसीकै नक्कली भर्सनका रूपमा भित्राइएको नियोसिया प्यासेन्जर भ्यानमध्ये २ सय थान विक्री भइसकेको र २ सय थान चीनतर्फको भन्सारमै रहेको समयमा आगामी दिनमा भने उक्त भ्यान नेपाल नआउने भएको छ । एम्बर मोटर्सको सेल्सतर्फका जिएम दिनेशराज पाण्डेले लोकपथसँगको कुराकानीमा नियोसिया भ्यानको आयात अब नहुने निश्चित प्राय भएको बताए । उनले केवाइसी गाडीको आयात खुला भएकाले अब केवाइसी गाडी नै आयात गरी विक्री गरिने समेत बताए ।

४ सय गाडीको आयात गरी विक्रीको तयारी गरिरहेको समयमा ती गाडीको पार्टस् र वारेन्टी के हुन्छ त भन्ने लोकपथको प्रश्नमा पाण्डेले वारेन्टीमा कुनै समस्या नहुने दाबी गरे । आफूहरूले उत्पादक कम्पनीसँग वारेन्टी र पार्टसका सम्बन्धमा सम्झौता गरिसकेको भन्दै त्यसमा कुनै समस्या नहुने बताए ।

पाण्डेले वारेन्टी र पार्टसमा कुनै समस्या नहुने बताए पनि मात्रै ४ सय भ्यान ल्याएर नयाँ भ्यान नल्याउँदा त्यसको पार्टस् आउने सम्भावना पनि करिब करिब सकिएको छ । पाण्डेले केवाइसीकै पार्टपुर्जा लाग्ने भनेपनि सबै सामान केवाइसीकै नलाग्ने एक भ्यान धनीले बताए ।

यस्तो अवस्थामा चीनबाट निश्चित मात्रामा भ्यान ल्याएर विक्री गर्ने र नाफा लिएर बाहिरिने तर सवारी धनीका लागि आवश्यक पार्टपुर्जा र वारेन्टी नदिने जोखिम भने बढेको छ । भविष्यमा भ्यान नै आयात नभएपछि एम्बर मोटर्सको औचित्य पनि सकिएको अवस्थामा सवारी किन्नेहरूले मुद्दा मामिला गर्ने अवस्थासम्म नरहने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?