काठमाडौं । काठमाडौं विश्वविद्यालयमा हिमालयन रिम फिल्म प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । दुई दिने यस कार्यक्रमले कला, प्रविधि र परम्पराको संगमबाट चीन र नेपालबिचको सांस्कृतिक आदानप्रदानलाई अझ सशक्त बनाएको छ ।
एआई र पौराणिक कथाको मेलले दर्शक मन्त्रमुग्ध
कार्यक्रमको पहिलो दिन बुधबार आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि, पौराणिक कथाहरू र सिर्जनात्मक प्रस्तुतिले समावेश गरिएको चिनियाँ एनिमेसन चलचित्रहरूको प्रदर्शनी भएको थियो । ती फिल्महरूले दर्शकहरूलाई झस्काउँदै प्रविधि र संस्कृतिको सुन्दर संयोजन देखाउन सफल भयो । उक्त दिन ‘द स्पिरिट अफ द माउन्टेन्स’ र ‘सेतो सर्प’ जस्ता चलचित्रहरूको विशेष स्क्रिनिङ गरिएको थियो ।
परम्परागत कागज शिल्प र आधुनिक एनिमेसनको फ्युजन
बिहीबार आयोजना भएको ‘फिंगरटिप क्रिएशन्स’ कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बन्यो । यस कार्यशालामा नेपाली कालीगढहरूले परम्परागत हस्तनिर्मित कागज बनाउने प्रक्रिया प्रत्यक्ष देखाए । विद्यार्थीहरूले यस स्थानीय र पर्यावरणमैत्री कागज प्रयोग गरी ‘नयाँ देवताहरू याङ जियान’, ‘सेतो सर्प’ र ‘हेई २’ जस्ता चिनियाँ एनिमेसन चलचित्रबाट प्रेरित भई पोस्टर र चित्रहरू तयार पारेका थिए । यसले चिनियाँ एनिमेसन र नेपाली शिल्प परम्पराको सुन्दर साझेदारी र फ्युजन प्रस्तुत गरेको थियो । सोही दिन ‘नयाँ देवताहरू याङ जियान’ चलचित्रको प्रदर्शनी समेत गरिएको थियो ।
विशेषज्ञको व्याख्या, ‘एआईले फिल्म उद्योगको भविष्य परिवर्तन गर्दैछ’
कार्यक्रमको अन्तिम दिन बेइजिङस्थित नर्मल युनिभर्सिटीका प्रोफेसर झाङ यानले ‘एआई–सञ्चालित रूपान्तरण र फिल्म उद्योगमा नवीनता’ विषयमा जानकारी दिएका थिए । झाङले एआई प्रविधिले चलचित्र निर्माण र सम्पूर्ण उद्योगको भविष्य कसरी परिवर्तन गरिरहेको छ भन्ने विषयमा विद्यार्थीहरूसँग गहनरुपमा छलफल गरेका थिए ।
केवल फिल्म नभई प्रविधि, परम्परा र युवाको संवाद
हिमालयन रिम फिल्म प्रदर्शनीले केवल चलचित्र प्रदर्शनमा सीमित नरही प्रविधि, परम्परा र युवाहरूबिचको सिर्जनात्मक संवादलाई प्रोत्साहन गरेको आयोजकले दाबी गरेको छ । यस कार्यक्रमले सिर्जना गरेका प्रभावहरू-एनिमेसनप्रतिको बढ्दो चासो, परम्परागत शिल्पप्रतिको सम्मान र भविष्यका सहकार्यका सम्भावनाहरू-आगामी दिनहरूमा अझ फैलिँदै जाने उनीहरूले अपेक्षा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया