जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस् : रविलक्ष्मी चित्रकार

लोकपथ
357
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।

लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेनजी आन्दोलनका अवोध सदस्यहरूले देशलाई नष्ट गर्ने प्रयास गरेको आरोप लगाइन् । 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘जेनजीका भाइबहिनीहरूको अवोधपनको मुखुण्डो ओढेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई सरकारले छिट्टै चिनेर कारबाही गर्नुपर्छ। मेरो यही माग हो ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूर्ण नभएको जानकारी दिए । उनले भने, ‘हामीले अझ धेरै गर्न बाँकी नै छ। घरसहित सबै जलाइदिइएपछि उपचारमा समस्या आएको छ। यो प्रक्रिया अझै अगाडि बढाउन आवश्यक छ ।’

गत भदौमा डल्लुस्थित खनाल दम्पतीको घरमा जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । उपचारका लागि भारत लगिएको उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको जनाइएको छ।

चित्रकारको यो मागले जेनजी आन्दोलनका हिंसात्मक गतिविधि र दोषीमाथि कारबाहीको विषय पुनः राजनीतिक र सामाजिक बहसको केन्द्रमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?