काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको गुनासो गरेकी छन् ।
सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेकी हुन् ।
अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहिरहेको बताइन् ।
मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताइन् ।
उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने बताइन् ।
राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उनको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनैपनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरु भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो ।नाबालकहरु मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेनजीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुपर्यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुनसक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटी भए, जे गल्ती भए, जेको परिणाबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेन–जीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेका छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरु खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’
प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस आराम गर्न नआएको बताइन् ।
विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको बताइन् । सबैलाई निर्वाचनमा आइदिन आह्वान गर्नुभयो । सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया