प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– ‘शीर्ष नेताहरुसँग तत्काल सम्वाद गर्नुस्’

लोकपथ
280
Shares
प्रधानमन्त्रीद्वारा आह्वान भएको सर्वपक्षीय बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सहमहामन्त्री महेन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्नुपर्ने बताएको छ ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताएका हुन् ।

उनले राजनीतिक दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न ढिलाई गर्न नहुने बताए । उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए ।

उनले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाए ।

तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको बैधतामाथि नै प्रश्न उठने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाई थियो ।

उनले भने, ‘सुरक्षाको व्यवस्था भएन भने विगतमा धेरै चुनाव नेपाली कांग्रेसको नेतृत्वमा भएको छ । कांग्रेसको नेतृत्वमा चुनाव हुँदा हाम्रो प्रधानमन्त्रीले पनि चुनाव हारेको छ । तर हामीले निष्पक्ष निर्वाचन गराएका छौँ । अहिले यो सरकारबाट पनि त्यस्तो आओस् । कसैले रिसिईबी साँध्ने काममा सरकार नजाओस । डेमोक्रेसीको मूल आधार राजनीतिक दलहरु नै हो । त्यसैले राजनीतिक दलका शिर्ष नेताहरुसँग पनि कुरा गर्नुस् । र अहिले जुन कानून ल्याउन खोज्नुभएको छ । त्यो राम्रो भएपनि समयले हामीलाई साथ दिँदैन ।’

सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरुलाई बेवास्ता गरेर कुनैपनि गतिविधि अघि बढाउन नसकिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?