काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधारण नागरिकहरूको सेवा सुविधाका लागि नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ ।
मेडिकल कलेजको लागि आधारभूत संरचनाहरूको निर्माण कार्य भने जारी छ ।
अस्पतालको स्तरवृद्धिको अवधारणाअनुरूप पछिल्लो ३ वर्षमा दुई वटा नयाँ माड्युलर अप्रेसन थियटरको निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी सञ्चालनमा ल्याइएको छ । सो युनिट स्थापनासँगै क्यान्सर रोगको उपचार सेवासमेत सुरु भएको छ ।
त्यस्तै इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयहरूमा टेलिमेडिसिन सेवासमेत सञ्चालन हुँदै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्यसम्बन्धी जानकारी लिन सक्नेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नेपाल एपीएफ अस्पताललाई तीन सय शय्या क्षमताको अस्पताल सञ्चालनका लागि २०८१ असोजमा इजाजतपत्र प्राप्त भएपछि सञ्चालनमा ल्याइएको हो ।
त्यस्तै नेपाल सरकार (सचिवस्तर)को मिति २०८० साल पुस २२ गतेको निर्णयानुसार नेपाल एपीएफ अस्पतालले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम सर्वसाधारणहरूका लागि समेत हेमोडायलेसिस सेवा सञ्चालनमा ल्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) सँग २०८० कार्तिक २४ नेपाल एपीएफ अस्पताल र न्याम्सबीच चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको थियो । अस्पतालले सुरक्षा इकाई स्थापना तथा अन्कोलोजी युनिट सञ्चालन, टेलिमेडिसिन सेवा प्रदान, अतिरिक्त अस्पताल सेवा कार्यक्रम र व्यवस्थापन आदेशसम्बन्धी नीति तथा मापदण्डलाई कार्यान्वयनमा ल्याई सञ्चालन गरिएको छ ।
अस्पतालले उपचारार्थ आउने बिरामीहरूलाई समयसापेक्षितरुपमा गुणस्तरीय सेवा उपलब्ध, अस्पतालको स्तरोन्नति र अस्पतालमा कार्यरत जनशक्तिहरूको वृत्ति विकासका लागि समेत आवश्यक पर्ने भवन, कुरुवा घर, वेयर हाउस, एकेडेमिक भवन र पुनर्स्थापना केन्द्र निर्माण गर्ने कार्यको समेत आवश्यक तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाल एपीएफ अस्पताल तथा मातहत अस्पतालहरूमा ‘बर्न केस युनिट’ सञ्चालनका लागि २२ जना स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीहरूलाई नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरमा ५ दिन अवधिको तालिम उपलब्ध गराई उक्त सेन्टरका लागि आवश्यक पूर्वाधार तथा सामाग्रीहरूको जडान कार्य भइरहेको छ ।
त्यस्तै उपचारार्थ आउने बिरामीहरूको लागि सहज होस् भन्ने अभिप्रायले छिन्नमस्ता फिल्ड अस्पताल महोत्तरी, मुक्तिनाथ फिल्ड अस्पताल कास्की, महेश्वरी फिल्ड अस्पताल सुर्खेत, वैद्यनाथ फिल्ड अस्पताल कैलालीमा समेत नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणपश्चात् अब विशेषज्ञ चिकित्सकको सेवा प्राप्त हुनेछ ।
सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरभित्र सशुल्क फार्मेसी सञ्चालन गर्नुका साथै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूको लागि दैनिक उपभोग्य सामान सुलभ मूल्यमा उपलब्ध गराउनको लागि सुपथ मूल्य क्यान्टिन समेत सञ्चालनमा ल्याइएको छ । त्यसैगरी अस्पतालको स्तरोन्नतिसँगै मातहत क्षेत्रीय तथा फिल्ड अस्पतालहरूमा फिजियोथेरापी सेवा विस्तार गर्ने योजनाअनुरूप मेडिकल असिस्टेन्टहरूलाई सो सम्बन्धी प्रशिक्षण प्रदान गराई सञ्चालनको योजना समेत नेपाल एपीएफ अस्पतालको रहेको बताइएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८२/८३ बाट हालै नेपाल एपीएफ अस्पताल बलम्बुमा एपीएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस् सञ्चालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रबाट सञ्चालन गरिएको यस इन्स्टिच्युटको २०८२ साल बैशाख २६ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट आशयपत्र प्राप्त भएपश्चात् औपचारिक रूपमा कार्य सञ्चालन गरिएको थियो ।
सीटीईभीटीबाट २०८२ साल साउन ७ गतेको सम्बन्धनपत्र प्राप्त भई यसै शैक्षिक सत्रदेखि प्रवीणता प्रमाणपत्र तह नर्सिङ सुरु गरिएको इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा ४० जना विद्यार्थीको सिट रहेको शैक्षिक कार्यक्रम ३ वर्ष अवधिको रहेको छ । इन्स्टिच्युटमा हालसम्म सशुल्कतर्फ ३६ जना र छात्रवृत्तितर्फ ४ जना गरी ४० जना विद्यार्थी भर्ना प्रक्रिया पूरा भई अध्ययन कार्य सुरु भएको छ । जसमध्ये बहालवाला, अवकाशप्राप्त तथा अमर सशस्त्र प्रहरी कर्मचारीका सन्तति ८ जना र १ जना स्थानीय चन्द्रागिरि नगरपालिकाको बासिन्दालाई प्रदान गरिएको छ । जसमध्ये वर्गीकृत ४ र जेहेन्दार १ गरी ५ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिएको छ ।
विद्यार्थीहरूको प्रयोगात्मक सीप विकासका लागि यस इन्स्टिच्युटमा शैक्षिक कार्यक्रमहरूको प्रयोगात्मक क्लिनिकल अभ्यासहरू अस्पतालकै सेवा प्रवाह केन्द्रहरूमा सञ्चालन गरिने छ । अध्ययनको लागि आवश्यक पर्ने कक्षाकोठा, सीप विकास केन्द्र, पुस्तकालय, प्रयोगात्मक ल्याब, अतिरिक्त क्रियाकलाप क्षेत्रहरूको व्यवस्थापन र शिक्षक तथा विद्यार्थीहरूको आवासको समेत व्यवस्था गरिएको छ ।
यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पतालसमेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टरले कमान्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आम सर्वसाधारणले समेत स्वास्थ्य सेवा पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया