ढुक्क हुनुस्, निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशनबिना कांग्रेस चुनावमा नजाने बताएका छन् । आगामी पुस २६ देखि पुस २८ गतेसम्मका लागि घोषित महाधिवेशन हुने/नहुने र नहुने अवस्था आए कांग्रेस कसरी अघि बढ्छ भन्ने संशय पैदा भइरहेको बेला महामन्त्री थापाले निर्वाचनअघि नै महाधिवेशन हुने जिकिर गरे ।

काठमाडौं धुम्बाराही ब्यांकेटमा आज सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए ।

उनले भने, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ ।’

महामन्त्री थापाले संविधानलाई ट्र्याकमा फर्काउन पनि २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताए । उनले भने,  ‘अधिवेशनबिना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा ।’

उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताउँदै भने, ‘जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौँ, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला,’ उनले भने, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ ।’

उनले चुनाव फागुन २१ मै हुनुपर्नेमा जोड दिए । ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ, फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्र्याकभन्दा बाहिर गएको छ, संविधानलाई ट्र्याकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने,’ उनले भने ।

उनले २१ फागुनका लागि तय भएको निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्नेमा जोड दिए । ‘चुनावको परिणाम के होला, हाम्रा लागि कति अनुकूल होला, कति प्रतिकूल होला, त्यो हाम्रो आन्तरिक विषय हो,’ उनले भने, ‘हामी छलफल गरौँला, त्यसलाई अनुकूल बनाउने कोसिस गरौँला, थप मेहनत गरौँला, आफ्ना कुरा भनौँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?