काठमाडौं । स्वास्थ्य बीमाको २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने तीन जना दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले आइतबार हिनामिनामा संलग्न तीन जनालाई दोषी ठहर गरेको हो ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत करारकी कम्प्युटर अपरेटर तृप्ति शाहीको योजनामा लेखा अधिकृत शंकर प्रसाद सुवेदी र कुमारी बैंकको एक्सटेन्सन काउन्टर प्रमुख गोमा सिंजाली मगर भ्रष्टाचारको कसुरमा दोषी ठहर भएका हुन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्यहरू न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको पूर्ण इजलासले प्रदेश अस्पताल सुर्खेतको रकम हिनामिना प्रकरणलाई तीनै जनालाई दोषी ठहर गरेको हो । अब सजाय के कति हुने भन्ने सम्बन्धमा भने प्रतिवादीका तर्फबाट सजाय पूर्वको प्रतिवेदन माग गरिएको छ ।
भएको के थियो ?
प्रदेश अस्पताल, सुर्खेतको सामाजिक सेवा एकाइमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर तृप्ति शाहीले स्वास्थ्य बीमाको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आर्थिक वर्ष २०८०।०८१ मा शाही लगायतले स्वास्थ्य बीमाको रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो ।
छानबिनका क्रममा प्रदेश अस्पताल सुर्खेतका छैटौँ तहका लेखा अधिकृत शंकर प्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिइएकी तृप्ति शाही र कुमारी बैंकको अस्पतालमा रहेको एक्सटेन्सन काउन्टरको तत्कालीन प्रमुख गोमा सिंजाली मगरसमेतको मिलेमतोमा रकम हिनामिना गरिएको पाइएको थियो ।
अख्तियारले छानबिनपछि विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा यी तीन जनाको मिलेमतोमा प्रदेश अस्पताल सुर्खेतमा २०८० साउन १ गतेदेखि २०८१ असार ३२ गतेसम्मको अवधिमा कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसा रकम संकलन भएको र त्यसमध्ये केवल ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्रै अस्पतालको नाममा रहेको बैंक खातामा दाखिला गरेको पाइएको थियो । उक्त रकममध्ये बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा भने उनीहरूले हिनामिना गरेको पाइएको भन्दै उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अन्तरगत कारबाही गरी बिगो भराउन माग दाबी लिएको थियो ।

उक्त कसुरमाथि आइतबार फैसला सुनाउँदै अदालतले डल्फिन सफ्टवेयरको प्रयोग गरी भएको आम्दानीमा कम्प्युटर अपरेटर तृप्ति शाहीको योजनामा स्वास्थ्य बीमातर्फ १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा र साधारणतर्फ २४ लाख २ हजार ९० रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ ।
अदालतले आफ्नो फैसलामा कुमारी बैंकको अस्पतालमा रहेको एक्सटेन्सन काउन्टर प्रमुख गोमा सिंजाली मगरले अस्पतालको कम्प्युटर अपरेटर तृप्ति शाहीलाई बैंक काउन्टरमा अनधिकृत प्रवेश दिएको र सफ्टवेयरबाट जारी भएको बिलको आधारमा उठाएको रकम खातामा प्रविष्ट नगरी सिस्टममै छेडखानी गरी गायब पारिएको उल्लेख छ । यसबाट बैंकको शाखा प्रमुखले आफ्नो दायित्व निर्वाह नगरेको कारण उनलाई समेत दोषी ठहर गरिएको छ ।
अर्का प्रतिवादी लेखा अधिकृत शंकर प्रसाद सुवेदी अस्पतालको लेखा अधिकृतको हैसियतमा रहे पनि अस्पतालका विभिन्न काउन्टरहरूबाट डल्फिन सफ्टवेयरसमेत मार्फत संकलन भएको रकम बैंकमा दाखिला भएको वा नभएको विवरणको नियमित परीक्षण गरी अस्पतालको खातामा रकम जम्मा भएको वा नभएको नहेरी जिम्मेवारी पूरा नगरेको ठहर गर्दै उनलाई समेत दोषी ठहर गरिएको छ ।
यसरी करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ति शाहीको योजनामा कुमारी बैंकको कर्मचारी गोमा सिंजाली मगर र लेखा अधिकृत शंकर प्रसाद सुवेदी समेतको योजना र मिलेमतोमा स्वास्थ्य बीमाको रकम हिनामिना गरेको ठहर गर्दै उनीहरूलाई के कति कैद सजाय र जरिवाना गर्ने भन्ने सम्बन्धमा भने सजाय पूर्वको प्रतिवेदन माग गरिएको छ । सजाय पूर्वको प्रतिवेदन लिई पुस १८ गतेको पेसीसमेत तोकिएको छ ।
यसरी कर्णाली प्रादेशिक अस्पतालको स्वास्थ्य बीमाको करिब २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने प्रमुख दोषी तृप्ति शाहीसहित तीन जनालाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया