कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग

लोकपथ
70
Shares

काठमाडौं । कवाड व्यवसायीहरूले कवाड संकलन मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले विगत दुई वर्षदेखि कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि अन्यायपूर्ण दमन गरिरहेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका प्रतिनिधि ओमप्रकाश सिंहले कवाड व्यवसायीहरूले देशका विभिन्न धातुजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको भए पनि काठमाडौं महानगरपालिकाबाट निरन्तर अन्याय भोग्नुपरेको बताए । उनले कवाड व्यवसायले देशको व्यापार घाटा घटाउन, राजस्व संकलन बढाउन तथा वातावरणीय सरसफाइमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी गरे ।

सिंहले कवाड संकलन व्यवसायी र मजदुरमाथि कुटपिट गर्ने, संरचना भत्काउने, सामान जफत गर्ने, साइकल खोस्ने, अपहरण शैलीमा मानिस लैजाने तथा मानसिक त्रास सिर्जना गर्ने कार्य तत्काल रोक्न काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए । यस्ता गतिविधिले संविधानले सुनिश्चित गरेको पेसा तथा व्यवसाय गर्न पाउने मौलिक हक हनन भएको उनको भनाइ छ ।

उनले संविधानले दिएको व्यवसाय गर्ने अधिकारको ग्यारेन्टी गर्न, कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न र यसमा संलग्न काठमाडौं महानगर प्रहरी तथा जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरे । साथै कवाड संकलन मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग तत्काल कदम चाल्न र विस्थापित कवाड व्यवसायीहरूको रोजगारी सुनिश्चित गर्न पनि माग गरे ।

पत्रकार सम्मेलनमा सिंहले हाल कवाड व्यवसायमा एक लाखभन्दा बढी मानिस प्रत्यक्ष रूपमा आबद्ध रहेको उल्लेख गर्दै वातावरणीय सरसफाइमा समेत यस क्षेत्रको ठुलो योगदान रहेको बताए । तर महानगरपालिकाको निरन्तर दमनका कारण व्यवसायी तथा मजदुर असुरक्षित बनेको उनको भनाइ छ ।

उनले काठमाडौं महानगरपालिकाबाट पीडित फुटपाथ व्यवसायी तथा अन्य साना व्यवसायीलाई पनि सहकार्यका लागि आह्वान गरे । उनले मागहरू यथाशीघ्र सम्बोधन नभए जेनजी पुस्तासँग सहकार्य गर्दै थप आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?