अबदेखि सशस्त्र प्रहरीले पनि ‘निर्वाचन प्रहरी’ भर्ना गर्ने, खटनपटन पनि सशस्त्रले नै गर्ने

लोकपथ
1.9k
Shares

काठमाडौं । हरेक निर्वाचनमा नेपाल प्रहरीले मात्रै निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्दै आएकोमा अबदेखि सशस्त्र प्रहरीले पनि भर्ना लिने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीले पनि ‘निर्वाचन प्रहरी’ भर्ना लिने भएको हो । 

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको केही साताअघि बसेको मन्त्रिपरिषद् बैठकले म्यादी प्रहरीलाई निर्वाचन प्रहरी भन्ने निर्णय गरेको थियो । 

सरकारले यसपटक म्यादी प्रहरी नभनेर ‘निर्वाचन सुरक्षा प्रहरी’ शीर्षकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई छुट्टाछुट्टै भर्ना लिन दिने निर्णय गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर १ लाख ४५ हजारभन्दा बढीको संख्यामा निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जसमध्ये नेपाल प्रहरीले एक लाख ३० हजार र सशस्त्र प्रहरी बलले १५ हजारभन्दा बढीको संख्यामा भर्ना गर्ने भएको छ । 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव काफ्लेले दुवै संगठनले निर्वाचन प्रहरी भर्ना गर्नेगरी एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरिएको जानकारी दिए । उनले यो प्रक्रिया केही दिनभित्रै सुरु हुने पनि बताए । 

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनीष थापाले सशस्त्रले निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीले १५ हजार भन्दा बढी भर्ना गर्न लागेको र उनीहरूलाई आफूहरूले नै तालिम र खटनपटन गर्ने बताए ।

प्रतिनिधिसभा स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत सुरक्षा योजनाअनुसार परिचालन हुनेछन् ।

निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र ‘निर्वाचन प्रहरी’ अनि अन्तिम घेरामा नेपाली सेनाको टोली रहनेछ ।

सुरक्षा संगठनहरूले उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्त्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचारप्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनमा सुरक्षा चुनौती हुन सक्ने भन्दै यसका लागि विभिन्न रणनीति तय गरेका छन् ।

यस्तै, निर्वाचनलक्षित अराजक, उच्छृङ्खल, आपराधिक क्रियाकलाप एवं गुन्डागर्दी गर्ने विभिन्न समूहमाथि प्रहरीले निगरानी बढाएको छ । 

उता, सशस्त्र प्रहरी बल, नेपालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक गरेको छ । सशस्त्रले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार आफ्नो परिचालन नीति तर्जुमा गरेको हो । सशस्त्र प्रहरीले तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न स्रोत र साधनको अधिकतम प्रयोग गरी प्रभावकारी परिचालन गर्ने बताएको छ । 

सशस्त्रले निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मकरुपमा अघि बढ्ने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?