आधुनिकताका नाममा मौलिकता नबिर्सौँ : प्रधानमन्त्री कार्की

लोकपथ
91
Shares

 काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजको मौलिक परम्परा र संस्कृति संरक्षण गर्नुपर्ने बताएकी छन् । संस्कृतिभित्र रहेका हानिकारक प्रथालाई सुधार गर्दै जानुपर्ने भए पनि परम्परागत वेशभूषा र मौलिकता भने छाड्न नहुने बताइन् । 

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो धारणा राखेकी हुन् । 

गुरुङ संस्कृतिअनुसारको परम्परागत वेशभूषामा उपस्थित प्रतिनिधिहरूको प्रशंसा गर्दै उनले सरकारी कार्यालयमा समेत हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आ–आफ्नो परम्परागत पोसाक लगाउने व्यवस्था गर्न सकिने बताइन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आधुनिकताका नाममा मौलिक पहिचान बिर्सँदै जाने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिन् । ‘कतिपय समाज आफ्नो पहिचानको खोजीमा छन्। तर हामी नेपालीसँग विविध संस्कृति, परम्परा र आफ्नोपन छ, यसलाई जोगाउनुपर्छ, ‘प्रधानमन्त्री कार्कीले भनिन्।

त्यस अवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्री कार्कीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रममा सहभागी हुन औपचारिक रूपमा आमन्त्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?