हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही

लोकपथ
560
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष डा.मित्र परियारलाई कारबाही गरेका छन् ।

बुटवलमा आयोजित कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार र सहसंयोजकलाई दिएको अपमानजन्य टिप्पणीका कारण उनलाई कारबाही गरिएको अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

साम्पाङले लेखेका छन्, ‘श्रम संस्कृतिमा कोही सानो–ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजक र सहसंयोजकप्रति गरेको अपमानजन्य व्यवहारले पार्टीको आचारसंहिता उल्लङ्घन गरेकोले नसच्चिएसम्मका लागि कारबाही गरिएको जानकारी गराउँदछु ।’

कार्यक्रममा उद्घोषकले सम्बोधनका लागि आग्रह गरेपछि बोल्न पुगेका परियारले आयोजकहरूको व्यवहार ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले केन्द्रीय उपाध्यक्ष भएको नाताले आफूलाई पनि बोल्न पाउनु पर्ने बताएका थिए ।

यसअघि पनि पार्टीका अर्का उपाध्यक्ष कारबाहीमा परिसकेका छन् । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) पनि पार्टीका उपाध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?