राजनीति गर्न होइन, देश परिवर्तन गर्न आएका हौँ : कुलमान घिसिङ

लोकपथ
98
Shares

काठमाडौं । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको स्पष्ट पारेका छन् ।

चितवनमा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले देशमा देखिएको वर्तमान राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

घिसिङले राजनीति र नेतृत्व फरक विषय भएको उल्लेख गर्दै देश परिवर्तनका लागि जिम्मेवार नेतृत्व अपरिहार्य रहेको बताए । उनले नेपालमा चलिरहेको परम्परागत राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको, बरु देश परिवर्तन गर्ने बाटो मात्र समातेको जिकिर गरे ।

उनले भने, ‘हामी राजनीति गर्न आएका होइनौँ, देश परिवर्तन गर्न आएका हौँ। राजनीति र नेतृत्व फरक कुरा हुन्। अहिले नेपालमा जुन किसिमको राजनीति छ, त्यो गर्न आएको होइन, त्यो बाटो मात्र समातेको हो। यही बाटोबाट देश परिवर्तन गर्नुपर्छ ।’

देशमा सुशासन र समृद्धि नभएसम्म देशले अग्रगति लिन नसक्ने उनको भनाइ थियो । ‘देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन,‘उनले थपे ।

घिसिङले आफूहरू शासक बन्न नभई जनताको सेवक बन्न आएको बताउँदै उज्यालो पार्टीले देश परिवर्तन गर्ने नेतृत्व दिन चाहेको दाबी गरे । ‘हामी देशको शासक बन्न होइन, आम नेपाली जनताको सेवक बन्न आएका हौँ,‘ उनले भने।

कार्यक्रममा उनले भाषणभन्दा नतिजामा विश्वास गर्ने धारणा पनि व्यक्त गरे। मन्त्री घिसिङले शब्दभन्दा काम र उपलब्धिमार्फत जनताको भरोसा जित्ने आफ्नो प्राथमिकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?