काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने इच्छा रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित जेनजीसँग अन्तरक्रिया कार्यक्रममा उनले जनताले विश्वास गरेमा आफू देशको कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको स्पष्ट पारे ।
महासचिव चन्दले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने बताए । तर तोकिएकै मिति फागुन २१ मा निर्वाचन हुनेमा उनले शंका व्यक्त गरे ।
उनले प्रहरी र कर्मचारीको मनोबल घटेको, करिब १६ सय लुटिएका हतियार अझै फिर्ता नभएको र निर्वाचनका लागि आवश्यक बजेट अभाव रहेको भन्दै चुनाव हुन नसक्ने अवस्था रहेको बताए । उनले प्रहरीमाथि भएका आक्रमणप्रति राज्यको संवेदनशीलता नदेखिएको आरोप पनि लगाए ।
‘प्रहरी र कर्मचारीमा मनोबल छैन, पैसा छैन, यस्ता धेरै कारणले देश शान्ति र परिवर्तनतर्फ जाने कि नजाने भन्ने चिन्ता बढिरहेको छ, ‘चन्दले भने ।
उनले वर्तमान संकट समाधानका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिए । साथै, सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको प्रस्ताव छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली जेनजी आन्दोलनको पनि मुख्य माग हो ।
चन्दले जेनजी आन्दोलनका मागअनुसार भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्न वर्तमान सरकार असफल भएको आरोप लगाए । उनका अनुसार, चुनावमार्फत नयाँ शक्तिको उदय हुनुपर्ने बेला पुराना शक्ति सक्रिय हुन थालेको छ ।
पार्टीको दृष्टिकोणबारे उनले भने, ‘हामीले बन्दुक पनि बोक्यौँ, जेल पनि गयौँ, किताब पनि पड्यौँ । अहिले उद्योगधन्दा पनि चलाउँछौँ। यदि किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यम वर्ग र आम जनताले हामीलाई मौका दिनुभयो भने एक पटक देशको प्रधानमन्त्री भएर गोरु जस्तो जोतेर देशको सेवा गर्न चाहन्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया