सरकारलाई प्रचण्डको चेतावनी : निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमा निर्वाचन नगराई सार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारले कुनै पनि तर्क वा बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस गरे त्यस विरुद्ध सडक संघर्षमा उत्रिने स्पष्ट संकेत गरेका हुन् ।

उनले मुलुकमा सहज र समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचन पछि धकेल्ने कार्य संविधान मिच्ने काम हुने बताए । सरकार यस्ता गतिविधिमा लागे चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

दाहालले यसअघि पनि एक पटक संविधान मिचिएको उल्लेख गर्दै देशको असहज अवस्थालाई मध्यनजर गर्दै अन्तरिम सरकार गठनमा सहयोग गरिएको स्मरण गराए । तर सोही सरकारले फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने प्रयास गरे त्यसलाई सह्य नहुने उनको भनाइ थियो ।

उनले भने, ‘सरकारलाई हामी स्पष्ट भन्न चाहन्छौँ कुनै पनि तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नुहोस् । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरियोस्। यदि त्यसो गरिएन भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’

संयोजक दाहालले निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा कसैले पनि बाधा–व्यवधान खडा गर्न नहुने भन्दै लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने कुनै पनि कदमको कडा प्रतिवाद गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?