काठमाडौं । काठमाडौं महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पूर्वाधार विस्तार र मानव पुँजी विकासलाई प्राथमिकताका साथ अघि बढाएको छ । महानगरले ३२ वटै वडामा अस्पतालसरह स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम कार्यान्वयन गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिए ।
उक्त लक्ष्यअनुसार महानगरले दुई चरणमा ३२ वडाका स्वास्थ्य प्राविधिकलाई तालिम प्रदान गरिसकेको छ । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकलाई प्रशिक्षण दिइएको हो ।
तालिममा जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, बिरामीबाट नमुना सङ्कलन गर्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रण प्रक्रिया, क्षयरोगको नमुना सङ्कलन र परीक्षण, प्रयोगशालाको स्वच्छता तथा सरसफाइ, हानिकारक फोहर व्यवस्थापन, आवश्यक उपकरणको प्रयोग तथा जनशक्तिबिचको समन्वयजस्ता विषयमा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको छ ।
महानगरले ३२ वडामा स्थापना गरिएका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । प्रत्येक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ, जहाँ मधुमेहसहित रगत परीक्षण, मिर्गौला सम्बन्धी पिसाब परीक्षण तथा खकारबाट क्षयरोगको जाँचलगायत आधारभूत स्वास्थ्य परीक्षण उपलब्ध छन् ।
जनस्वास्थ्य प्रयोगशालालाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ समूहमा वर्गीकरण गरिएको छ । यीमध्ये ‘डी’ र ‘ई’ समूहका प्रयोगशाला सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३’ अनुसार सरकारी हेल्थपोष्टमा आधारित प्रयोगशाला ‘ई’ समूह र प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला ‘डी’ समूहमा पर्छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदीले काठमाडौं महानगरपालिकाका प्रयोगशालाहरूको गुणस्तर कायम राख्न र जनशक्तिको क्षमता अभिवृद्धि गर्न सहकार्य जारी राख्ने बताए । ‘कानुनले प्रदान गरेको अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने वातावरण बनाउन हामी तत्पर छौँ,‘उनले भने ।
कामपाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज तथा ल्याब टेक्निसियन राधिका कुइँकेलले आन्तरिक गुणस्तर नियन्त्रण प्रणाली र बाह्य प्रयोगशालासँगको सहकार्यमार्फत परीक्षण नतिजालाई विश्वसनीय बनाउने प्रयास भइरहेको जानकारी दिइन् ।
उनका अनुसार प्रयोगशाला विज्ञान र प्रविधिमा आधारित क्षेत्र भएकाले छिटो परिवर्तन भइरहन्छ । यसैले प्राविधिकहरूले नियमित रूपमा आफूलाई तालिममा सहभागी भएको महसुस गर्दै सेवा सञ्चालन मापदण्डका आधारमा काम गर्न आवश्यक छ,‘उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया