आज काठमाडौंमा नेकपाको एकता सन्देश सभा, भृकुटीमण्डपमा ५० हजार सहभागीको अपेक्षा

लोकपथ
308
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज शनिबार काठमाडौंमा ‘एकताको सन्देश सभा’ आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने सभामा करिब ५० हजार जनाको सहभागिता रहने नेकपाले जनाएको छ ।

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको हो । पार्टीका अनुसार सहभागीहरू बिहान ११ः३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा भेला भई दिउँसो सवा १२ बजेबाट जुलुससहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन् ।

पार्टीका शीर्ष नेताहरू भने जुलुसमा सहभागी नहुने र सिधै मञ्चमा प्रवेश गर्ने बताइएको छ । सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक एक भएर नेकपा गठन भएपछि पार्टीले देशभर एकताको सन्देश सभा गर्दै आएको छ । मंसिर १२ गतेदेखि विभिन्न प्रदेशमा सुरु भएको यो अभियानअन्तर्गत मंसिर २३ गते हेटौँडामा गर्ने तय भएको सभा त्यहाँ घरटहरा विस्तारको चरण रहेकाले स्थगित भई काठमाडौंमै आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?