बढ्ने हल्ला चलाएर शेयर किन्न लगाई आफू भने नाफा लिएर निस्कन्थे अग्रवाल

आरोप प्रमाणित भए ३ लाख जरिवाना र २ वर्षसम्म कैद हुनसक्ने

लोकपथ
812
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शुक्रबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झूटो अफवाह फैलाई कानून विपरीत नाफा लिएको भन्दै अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

अग्रवालले जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर अत्यधिक बढ्छ भनी हल्ला चलाएर आफूले कानून विपरीतको नाफा लिएको आरोप लागेको छ ।

नेपाल धितोपत्र बोर्डले गरेको जाँचबुझका क्रममा अग्रवालले भ्रामक सूचना दिई शेयर किन्न लगाएर आफूले भने ४९ लाख रुपैयाँ नाफा लिएर बाहिरिएको पाइएको थियो ।

अग्रवालले जोशी हाइड्रोपावरको शेयर प्रतिकित्ता ६ सय रुपैयाँसम्म पुराउने भन्दै सर्वसाधारण लगानीकर्तालाई किन्न लगाएका थिए । सर्वसाधारण लगानीकर्ताले जोशी हाइड्रोपावरको शेयर खरिद गर्न थालेपछि अग्रवालले भने नाफा बुक गरेर बाहिर निस्किएका थिए ।

अग्रवालले यसरी झुक्क्याउने विवरण सार्वजनिक गरी शेयर किन्न लगाएर करिब ५० लाख रुपैयाँ नाफा बुक गरेर बाहिरिएको पाइएको छ । अग्रवालले वास्तविक स्वामित्व नबदलिने गरी फरकफरक टिएमएसबाट शेयर खरिद तथा विक्री गरेको मूल्य बढाएको र मूल्य बढेपछि आफूले किनेको शेयर सर्वसाधारणलाई किन्न लगाएर आफू भने बाहिर निस्केका थिए ।

प्रारम्भिक अनुसन्धानमा अग्रवालले जोशी हाइड्रोपावरबाट मात्रै ४९ लाख १९ हजार हजार ८६५ रुपैयाँ ९० पैसा कानून विपरीत नाफा आर्जन गरेको पाइएको छ । त्यसैगरी धितोपत्र बोर्डले गरेको छानबिनमा अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृतिमरुपमा बढाएको पाइएको छ । अग्रवालले प्रि ओपन सेसन र अन्तिम अवस्थामा आफू आफूमा नै शेयर खरिद र विक्री गरी कृतिमरुपमा मूल्य बढाएको पाइएको हो ।

अग्रवालको उक्त कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ विरुद्धको कार्य भएकाले थप अनुसन्धानका लागि नेपाल धितोपत्र बोर्डले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्र काटेको थियो । त्यसपछि सिआइबीले शुक्रबार अग्रवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । सिआइबीले अग्रवालमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान सुरु गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ मा झुक्काउने विवरणहरू दिई शेयर किन्न उक्साउने, भ्रामक वा गलत विवरण दिनुलाई कानून विपरीतको कार्य भनिएको छ ।

दफा ९७ मा भनिएको छ,
झुक्क्याउने विवरणहरू दिने : कसैले कसैलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने उद्देश्यले देहायका काम गरेमा झुक्क्याउने काम गरेको मानिनेछ–
(क) झुटो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने,
(ख) बदनियत साथ कुनै तथ्य वा जानकारी लुकाउने,
(ग) बदनियत साथ झुटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने ।

अग्रवालले जोशी र कर्पोरेट डेभलपमेन्टको बैंकको शेयर मूल्य धेरै हुन्छ र धेरै बनाउने भन्दै उक्साएर किन्न लगाई आफू भने नाफा बुक गरेर बाहिरिएको बोर्डको अनुसन्धानबाट खुलेको थियो ।

\यसरी अग्रवालले झुटो कारोबार गरेको, मूल्यमा कृत्रिम प्रभाव पारेको कारण उनीलाई अनुसन्धान गरी कारबाही गर्न लागिएको हो । यदि अदालतबाट अग्रवालले गरेको कसुर पुष्टि भएमा उनलाई ३ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?