काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि अन्याय भएको भन्दै त्यसको हिसावकिताव बाँकी रहेको बताएका छन् ।
बिहीबार उच्च अदालत तुलसीपुरको आदेशपछि आज थुनामुक्त भएका लामिछानेले आफ्ना कार्यकर्ता तथा सुभेच्छुकहरुलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले आफूमाथि भएको अन्यायको अघि पूराना राजनीतिक दलहरुले गरेको अन्याय तुलना हुन नसक्ने भन्दै आफूले बोल्ने दिन आउनै बाँकी रहेको बताए ।
साथै आफू कारागारमा रहँदा आफूमाथि देखाएको सदासयताप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप बोल्ने बताए ।
लामिछाने शुक्रबार आपसी कागजात मिलाउन काठमाडौंबाट चितवन हुँदै रुपन्देहीको भैरहवा पुगेका थिए । रुपन्देही जिल्ला अदालतबाट थुनामुक्तको पत्र लिएपछि लामिछानेले संक्षिप्तमा आफ्नो भनाइ राख्दै उपस्थितहरुलाई सम्बोधन गरेका थिए ।
रविले भनेका छन् :
न्यायको यो लडाईँ मेरो बाँकी नै छ, मैले लड्नु छ । मैले अहिले लड्नुपर्छ, लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन, तपाईँका लागि, यो देशको न्यायका लागि लड्नुपर्नेछ । यिनीहरुले यो देशको लागि गरेको अन्यायका अगाडी ममाथि गरेको अन्याय कोही पनि होइन, त्यसको हिसाव गर्नुछ, त्यसको हिसाव मिलाएपछि अलि लामो बोलौँला । आजलाई म यतिमात्र भन्छु कि हिसाव मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी नै छ । म आशा गर्छु यो देशले चाँडै न्याय पाउनेछ । सबैको जय होस्, मैले बोल्ने समय आउँदैछ, केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ । सबै जनालाई यो माया, यो साथ र विश्वास अनि अनवरत सद्भावका लागि म धेरै धेरै धन्यवाद दिन्छु आज मैले यति मात्रै संकेत गरेँ, धेरै बोल्ने दिन आउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया