कास्की । ७२ लाल सुन लुट्नका लागि कास्कीमा आफ्नै नातिले हजुरआमाको हत्या गरेको खुलेको छ । शुक्रबार कास्की प्रहरीले आरोपितलाई पक्राउ गरेसँगै घटनामा नातिकै संलग्नता रहेको खुलेको हो ।
बिहीबार मध्यान्ह १२ बजेको समयमा पोखरा महानगरपालिका ३१ बाँसपानीमा ७५ वर्षीय महिलाको हत्या भएको थियो । बाँसपानीमा बसोबास गर्ने ७५ वर्षीय दाल कुमारी परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरी कान समेत काटिएको अवस्थामा फेला परेको थियो ।
घटनाको सूचना आए लगत्तै प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दा घटनामा मृतक दालकुमारीकै नातिको संलग्नता रहेको खुलेको थियो । त्यसपछि प्रहरीले व्यापक खोजतलास गर्दा घटनामा संलग्न रहेका २२ वर्षीय आशिष परियारलाई बिहीबार दिउँसो नै प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रवक्ता डीएसपी हरी बहादुर बस्नेतका अनुसार हजुरआमाको हत्या गरी आरोपितले दुवै कान काटेर कानमा लगाएको सुन लुट्न कानसमेत काटेर लगेका थिए । आरोपितको खोजी गर्दै जाँदा पोखरा महानगरपालिका १० बुद्धचोकबाट सुनका गरगहनासहित पक्राउ गरेको हो ।
प्रहरीसँगको प्रारम्भिक बयानमा आरोपितले सुन लुट्नका लागि हजुरआमाको हत्या गरेको र अंशको विवादसमेत रहेका बताएका छन् । आरोपितले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा आरोपितका बुवा वैदेशिक रोजगारीमा छन् भने आमाको अन्यत्रै विवाह भइसकेको छ ।

आरोपित नातिले पटक पटक हजुरआमासँग आफ्नो भागको अंश माग गरेको र हजुरआमाले नातिलाई होइन छोरा आएपछि छोरालाई अंश दिन्छु भनी इन्कार गरेको कारण रिस र सुन लुट्ने उद्देश्यले हत्या गरेको बताएका छन् ।
घटनास्थलबाट हत्यामा प्रयोग भएको बन्चरो र चक्कु बरामद भएको छ भने आरोपितलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया