काठमाडौं । अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । सन १९९० को दशकदेखि यो कार्यक्रम सुरु भएको हो ।
अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले अमेरिका सरकारले (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् । ट्रम्प प्रशासनले डीभी कार्यक्रम स्थगित गर्ने घोषणा गरेको उनले बिहीबार साँझ बताएकी हुन् ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति क्लाउडियो म्यानुअल नेभ्स भालेन्टे आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य खुलेपछि ट्रम्प प्रशासनले यो कदम चालेको हो । त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो व्यवस्थाको पक्षमा सुरुदेखि नै थिएनन् ।
राष्ट्रपति ट्रम्प डाइभरसिटी भिसा लट्री कार्यक्रम लामो समयदेखि आलोचक रहँदै आएका छन् । उनका अनुसार यो कार्यक्रमले सुरक्षा जोखिम निम्त्याउन सक्छ । रोजगारीमा आधारित भिसाजस्तो पर्याप्त योग्यतामा आधारित छैन । उनले आफ्नो पहिलो कार्यकालको सुरुआतमै यो कार्यक्रम समाप्त गर्ने प्रयास गरेका थिए ।
अमेरिकी प्रहरीले धेरै दिनदेखि ब्राउन विश्वविद्यालयमा गोली चलाउने व्यक्तिलाई खोजिरहेको भएपनि उनी अहिले मृत अवस्थामा भेटिएका छन् ।
गोली हान्ने क्लाउडियो म्यानुअल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्डसमेत जारी गरिएको थियो ।
‘यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो,’ अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डिभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु । ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस् ।’
सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौँ व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् ।
अमेरिकी संसद्ले बनाएको कानुनअनुसार लागु गरिएको यो कार्यक्रम नोएमले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय भने स्पष्ट छैन ।
लट्रीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले व्यवस्थापन गर्ने भए पनि अमेरिकामा पहिल्यै रहेका आवेदकहरूको सानो संख्याका लागि गृह सुरक्षा विभाग (डीएचएस) अन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजले प्रक्रिया गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया