मानव बेचबिखन रोकथाममा सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

लोकपथ
56
Shares

मोरङ । संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाममा सरकार संवेदनशील र प्रतिबद्ध रहेको बताएकी छन् ।

मन्त्रालय र माइती नेपालद्वारा विराटनगरमा आयोजित दुई दिने ‘नेपाल-भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै मन्त्री श्रेष्ठले दुई देशबिच आपसी समन्वय सुदृढ गरी यस्तो जघन्य अपराध रोक्न सरोकारवाला निकायको सक्रियता आवश्यक रहेको उल्लेख गरिन् । उनले बेचबिखनमा परेकाको तत्काल उद्धार र संरक्षणका लागि मन्त्रालय योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै महिला बेचबिखन रोकथामका लागि तत्काल कार्यविधि तयार गरी कार्यान्वयनमा लैजाने जानकारी दिइन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले संस्थाले विगत ३० वर्षदेखि मानव बेचबिखनविरुद्ध जनचेतना, उद्धार तथा पुनर्स्थापनामा काम गर्दै आएको बताइन् । अशिक्षा, बेरोजगारी र विभिन्न प्रलोभनका कारण अझै पनि किशोरीहरू बेचबिखनमा परिरहेकाले यसको नियन्त्रणका लागि समाज, संघसंस्था र सरकारी निकायबिच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन नेपालका प्रमुख समस्यामध्ये एक भएको उल्लेख गर्दै आपसी समन्वयबाट मात्रै यसको प्रभावकारी रोकथाम सम्भव हुने बताए ।

कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, सहसचिव आभा श्रेष्ठ, दिल्ली प्रहरीका डा.राकेश कुमार, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा पन्तलगायतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेतना र साझा रणनीति निर्माणमा गोष्ठी प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार गोष्ठीको मुख्य उद्देश्य मानव बेचबिखन नियन्त्रणका लागि नेपाल–भारतबिच आपसी सहकार्य र समन्वय सुदृढ गर्नु हो । दुई दिनसम्म चल्ने गोष्ठीमा दुवै देशका सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?