एमालेले भन्यो– ‘चर्चामा रहेका सबै भ्रष्टाचार काण्डहरुको छानबिन होस्’

लोकपथ
301
Shares

काठमाडौं । नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ ।

बिहीबार सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावहरुबारे जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पती छानविन गर्न माग गरे ।

दोषी देखिएकाहरुलाई कानून बमोजिम कारबाही गर्न आग्रह गर्दै राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गर्न पनि आग्रह गरे ।

उनले एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको भन्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको बताए ।

उनले भने, ‘नेकपा एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको छ । प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको छ । विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पती छानविन गरियोस् । चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस् । दोषी देखिएकाहरुलाई कानून बमोजिम कारबाही गरियोस् । राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् ।’

नेकपा एमालेको शनिबारबाट सुरु भएको ११औँ महाधिवेशन बिहीबार सम्पन्न भएको छ । महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेको छ । त्यसो त एमालेले नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?