काठमाडौं । जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन् ।
बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले जेनजी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरेकी हुन् ।
उनले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिन् ।
उनले सरकारले सम्झौताको नाममा काठमाडौं केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेनजी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाइन् ।
उनले भनिन्, ‘म प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने तपाईसँग जेनजीका माग र शहीद परिवारलाई क्षतिपूर्ति दिनसक्ने क्षमाता छैन भने पद छोडेर गइदिनुहोस् । युवाहरु छन् हामीसँग । जोस, जाँगर भएको र देशको लागि अगाडि बढ्छु भन्ने शिक्षित युवाहरु हुनुहुन्छ । शहीद परिवार र घाइते परिवारलाई पनि म के भन्न चाहन्छु भने पटक पटक ठक्कर खाँदै गलत बाटोमा नहिँड्नुहोस् । बरु सही नेतृत्व लिएर सही बाटोमा हिड्नुस् र २१ फागुनमा आउने निर्वाचनमा तपाईहरु पनि अगाडि बढ्नुहोस् । काठमाडौंमा रहेका आन्दोलनकारीलाई मात्र जेनजी अगुवा भनेर गाउँमा रहेका जेनजीहरुलाई उपेक्षा गरिएको छ । प्रधानमन्त्रीज्युलाई म के आग्रह गर्न चाहन्छु भने यो बुढेसकालमा काम गर्न सक्नुहुन्न भने तीर्थ यात्रा जानुहोस् । यसरी घाइते र शहीद परिवारको रगतमाथि खेलवाड नगर्नुहोस् । भोलिको दिनमा आरोप झेल्नुको सट्टा सक्षम युवाहरुलाई अगाडि बढाउनुस् ।’
उनले जेनजी आन्दोलनलाई भावनात्मक रुपमा लिई साइनो लगाउँदै नबस्न समेत कार्कीलाई चेतावनी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया