निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री सिन्हा

लोकपथ
42
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल उकास्न र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सरकारले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनाउन प्रयास गरिरहेको उल्लेख गरे । उनले जेनजी आन्दोलनका क्रममा भएका संगठित अपराधलाई कुनै हालतमा छुट नदिइने स्पष्ट पारे ।

मन्त्री सिन्हाका अनुसार जेनजीसँग गरिएको सम्झौतामा संगठित रूपमा गरिएका अपराधलाई छुट दिने कुनै व्यवस्था छैन । ‘सम्झौताका विषयमा केही भ्रम फैलिएको छ, तर त्यहाँ कहीँ पनि संगठित अपराधलाई माफी दिने उल्लेख छैन,‘उनले भने ।

वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन सम्पन्न गर्नु भए पनि सुशासन, सेवा प्रवाहमा सुधार, शान्ति–सुरक्षा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सहज औद्योगिक वातावरण निर्माण र सरकारी क्षेत्रको स्वतन्त्रता सरकारका प्रमुख प्राथमिकता रहेको मन्त्री सिन्हाको भनाइ छ ।

उनले जेनजी पुस्ताले उठाएका मागहरूलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै पारदर्शिता, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधिमैत्री छिटोछरितो सार्वजनिक सेवा अहिलेको प्रमुख अपेक्षा रहेको बताए । आन्दोलनले परम्परागत कार्यशैलीबाट बाहिर निस्केर प्रविधिमा आधारित सेवा प्रवाह गर्न दबाब सिर्जना गरेको उनको भनाइ थियो ।

मन्त्री सिन्हाले गत आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठान र निजी आवासमा भएको क्षतिप्रति सरकार संवेदनशील रहेको बताउँदै लक्षित र संगठित तवरले गरिएका क्षतिमा कुनै छुट नदिइने दोहोर्‍याए ।

कार्यक्रममा उनले अख्तियारलाई देखाएर काम नगर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा देखिएको टिप्पणी गर्दै सही काम गर्नेहरू डराउन नपर्ने अवस्था सरकारले सुनिश्चित गर्ने बताए । निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्दै उनले सुरक्षा र स्थायित्वको प्रत्याभूति दिन सरकार तयार रहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?