काठमाडौं । नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल मात्रै निर्वाचित भएकी हुन् ।
एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेकोमा उनी १ हजार ५ सय ३० मतका साथ दोस्रो नम्बरमा रहँदै सचिव निर्वाचित भएकी हुन् । ९ सदस्यीय सचिवमा तीन जना महिलाले प्रतिस्पर्धा गरेकोमा रचना खड्का र पेम्बा लामा पराजित हुने पुगे । खड्काले ८ सय ७७ र पेम्बाले ४ सय ९३ मत पाएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, एमाले पदाधिकारीमा उपाध्यक्षका लागि डा. बिन्दा पाण्डेले पनि उम्मेदवारी दिएकी थिइन् । ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएर ९ सय २१ मत पाएकी उनले पाँच सदस्यीय उपाध्यक्षभित्र आफूलाई उभ्याउन सकिनन् । एमाले उपाध्यक्षका ५ पदमा ११ जनाले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा १ हजार १ सय ३७ मतसम्म पाउने उम्मेदवार निर्वाचित भए ।
एमालेको अध्यक्ष, महासचिव र उपमहासचिवमा भने महिलाको उम्मेदवारी परेको थिएन । अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल फेरि निर्वाचित भएका छन् ।
एमाले विधानमा कम्तीमा एक जना पदाधिकारी महिला हुनुपर्ने व्यवस्था छ । यो भन्दा अघिको पदाधिकारीमा भने अष्टलक्ष्मी शाक्य (उपाध्यक्ष) र पद्मा अर्याल (सचिव) का रूपमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया