सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन् : सञ्चारमन्त्री खरेल

लोकपथ
49
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । 

बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपाल को ६१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरू चुनावमा होमिइसकेको स्पष्ट पारे ।

उनका अनुसार राजनीतिक दलहरूले निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् भने कतिपय दलले गाउँदेखि शहरसम्म अभियान सञ्चालन गरिरहेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनसम्बन्धी कामलाई द्रुत गतिमा अघि बढाएको मन्त्री खरेलले जानकारी दिए ।

फागुन २१ गते हुने निर्वाचनका लागि आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएको उल्लेख गर्दै उनले देशमा निर्वाचनको माहोल उत्सवबाट महोत्सवतर्फ उन्मुख भएको दाबी गरे । ‘जनता भोट हाल्न आतुर देखिन्छन्,‘उनले भने, ‘सरकारले सबैखालका स्रोत, साधन र जनशक्ति परिचालन गरी निर्वाचनलाई सफल बनाउने वातावरण निर्माण गरिरहेको छ ।’

मन्त्री खरेलले मुलुक निर्वाचनतर्फ अघि बढिसकेको उल्लेख गर्दै वर्तमान सरकार जेनजी आन्दोलनबाट प्राप्त म्याण्डेटअनुसार नै अघि बढिरहेको बताए। उनले सरकार गठन भएको तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दा अदालत पुगेको जानकारी दिँदै सुशासनका कामहरू पनि सँगसँगै अघि बढाइएको दाबी गरे ।

‘यस सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने म्याण्डेट पाएको छ,‘उनले भने, ‘राज्यका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण सरकारले बनाएको छ, जसका कारण भ्रष्टाचारसम्बन्धी मुद्दाहरू अघि बढिरहेका छन् ।’

उनले निर्वाचनको वातावरण निर्माण गर्न र मतदाता शिक्षा प्रवर्द्धनमा सहयोग गर्न सञ्चारमाध्यमहरूलाई पनि आग्रह गरे। वर्तमान सरकारले निर्वाचन र सुशासनका कामलाई एकसाथ अघि बढाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?