सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छ : मन्त्री चौलागाईं

लोकपथ
21
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले सरकारी कार्यालय र संरचनामा विदेशी पैदावारबाट बनेका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले वन मन्त्रालयमै विदेशी सामग्रीको प्रयोग देखिनु दुःखद भएको उल्लेख गर्दै अब नीतिगत सुधारसँगै व्यवहारिक परिवर्तनमा पनि जोड दिइने बताए । स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तार सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे ।

मन्त्री चौलागाईंले भने, ‘नेपाल सरकारले आफ्नै संरचना बनाउँदा आफ्नै वन पैदावार प्रयोग गर्ने कुरा अब प्राथमिकतामा आएको छ । पहिलो दिन वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षतर्फ जाने बाटोमै विदेशी वस्तुको मात्र प्रयोग देख्दा लज्जास्पद लाग्यो। त्यसैले हामीले क्रमशः परिवर्तन गर्दै जाने निर्णय गरेका छौँ ।’

उनले काम गर्ने शैलीबारे उल्लेख गर्दै भने, ‘हामी हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेका छौँ । अर्को दिन सुरु भएपछि फेरि त्यही अन्तिम दिन ठानेर अघि बढ्छौँ । हामीलाई ३० दिन दिनुहोस्, केही न केही परिणाम देखिन्छ ।’

मन्त्री चौलागाईंले वन पैदावार उद्योगी तथा व्यवसायीहरूलाई ३० दिनभित्र देखिने परिणाम दिने गरी काम अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?