रुपन्देही । सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमा सुनुवाइ सुरु भएको छ । उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ सुरु भएको हो ।
सुप्रिम सहकारीमा भएको ठगीको मुद्दामा लामिछाने र छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागमा पर्ने रकम बराबरको धरौटी राखी थुनामुक्त हुन निवेदन दिएका थिए । तर रुपन्देही जिल्ला अदालतले लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुगेका हुन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई धरौटी रकम लिई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी त्यसै निवेदनको पुनरावेदन लिई उच्च अदालत बुटवल पुगेका थिए ।
ठगी वा लेनदेनका मुद्दा मिलापत्रमा टुंगिन सक्ने र तिर्नुपर्ने रकम तिरेमा जुनसुकै बेला मुद्दा फिर्ता हुन सक्ने सर्वोच्चको अघिल्ला फैसलामा भनिएको छ । सोही नजिर अनुसार नै लामिछानेले आफ्नो भागमा परेको रकम तिरेर थुनामुक्त हुन निवेदन दिएका थिए । तर लामिछानेविरुद्ध संगठित अपराधमा समेत मुद्दा दायर भएकाले थुनामुक्त गर्न नसकिने भन्दै लामिछानेको निवेदन रुपन्देही जिल्ला अदालतले खारेज गरिदिएको थियो ।
यसअघि गत मंसिर २५ गतेको पेसीमा लामिछानेको निवेदन न्यायाधीशद्वय सागर विष्ट र तेजनारायण पौडेलको इजलासमा परेको थियो । तर विष्टले लामिछानेको मुद्दा हेर्न नमिल्ने भएपछि उक्त दिनको पेसी स्थगित भएको थियो । त्यसभन्दा अगाडि मंसिर ४ गते र मंसिर ११ गतेको पेसी भने निवेदकको कानुन व्यवसायीबाटै स्थगित गरिएको थियो । लगातार तीन पटक सुनुवाइ हुन नसकेको पेसी बिहीबार भने हेर्न नमिल्ने न्यायाधीशबाहेकबाट गोला तानेर न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा परेको हो ।
बिहीबार अन्य आदेश नभएको अवस्थामा लामिछानेको निवेदनमाथि आदेश आउने छ । आदेशमा धरौटी लिई थुनामुक्त गर्नु भन्ने आदेश आएमा लामिछाने थुनामुक्त हुनेछन् भने जिल्लाकै आदेश सदर भएमा उनी थुनामै रहेर मुद्दा लड्नुपर्नेछ । यद्यपि उच्च अदालतले समेत रिहा नगरेमा लामिछाने सर्वोच्च अदालतमा पुनरावेदनका लागि आउन भने सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया