रवि र छविको मुद्दा न्यायाधीशद्वय आचार्य र पौडेलको इजलासमा

लोकपथ
637
Shares

रुपन्देही । सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासमा पेसी तोकिएको हो ।

सुप्रिम सहकारीमा भएको ठगीको मुद्दामा लामिछाने र छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागमा पर्ने रकम बराबरको धरौटी राखी थुनामुक्त हुन निवेदन दिएका थिए । तर रुपन्देही जिल्ला अदालतले लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुगेका हुन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई धरौटी रकम लिई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी त्यसै निवेदनको पुनरावेदन लिई उच्च अदालत बुटवल पुगेका थिए ।

ठगी वा लेनदेनका मुद्दा मिलापत्रमा टुङ्गिन सक्ने र तिर्नुपर्ने रकम तिरेमा जुनसुकै बेला मुद्दा फिर्ता हुन सक्ने सर्वोच्चको अघिल्ला फैसलामा भनिएको छ । सोही नजिर अनुसार नै लामिछानेले आफ्नो भागमा परेको रकम तिरेर थुनामुक्त हुन निवेदन दिएका थिए । तर लामिछानेविरुद्ध संगठित अपराधमा समेत मुद्दा दायर भएकाले थुनामुक्त गर्न नसकिने भन्दै लामिछानेको निवेदन रुपन्देही जिल्ला अदालतले खारेज गरिदिएको थियो ।

यसअघिको पेसीमा लामिछानेको निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको थियो । त्यतिबेला स्थगित भएको उक्त पेसी बिहीबार भने हेर्न नमिल्ने न्यायाधीशबाहेकबाट गाेला तान्दा न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा परेको हो ।

बिहीबार अन्य आदेश नभएको अवस्थामा लामिछानेको निवेदनमाथि आदेश आउने छ । आदेशमा धरौटी लिई थुनामुक्त गर्नु भन्ने आदेश आएमा लामिछाने थुनामुक्त हुनेछन् भने जिल्लाकै आदेश सदर भएमा उनी थुनामै रहेर मुद्दा लड्नुपर्नेछ । यद्यपि उच्च अदालतले समेत रिहा नगरेमा लामिछाने सर्वोच्च अदालतमा पुनरावेदनका लागि आउन भने सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?