सशस्त्रका आईजीपीले देखाए व्यावसायिकता, उत्कृष्ट कार्य गर्नेहरू नै शान्ति मिसनमा छनौट

लोकपथ
448
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यो वर्ष संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा न्याय हुनेगरी छनौट गरेको पाइएको छ । विगतमा भीआईपी कोटा र पहुँचका आधारमा ‘बाँडफाँड’ गर्ने गरेकोमा यो वर्ष उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई प्राथमिकता दिएर छनौट गरेको पाइएको हो । 

गतवर्ष सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले उत्कृष्ट कार्य कोटाअन्तर्गतको नामावली सिफारिस गर्नु पर्नेमा विगतमा झैँ चरम अत्याचार गरेको पाइएपछि लोकपथ डटकमले भीआईपी कोटा र पहुँचका आधारमा क–कस्ता सशस्त्र प्रहरी कर्मचारीलाई सिफारिस गरेको थियो भनेर समाचार नै सम्प्रेषण गरेको थियो । २०८१ पुस २१ गते लोकपथ डटकमले ‘सशस्त्रमा यूएन मिसन उत्कृष्ट कर्मचारी छनौटमा चरम बदमासी, प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी र एआईजीले यसरी लगाए भागबन्डा’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सशस्त्र मुख्यालयले यसलाई गम्भीरतापूर्वक लिँदै अनौपचारिक कुराकानीमा आगामी वर्ष यसलाई सुधार्ने प्रतिबद्धता जनाएको थियो । 

तत्कालीन सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपाने आफै लोकपथको कार्यालयमा आएर आगामी दिनमा यसलाई सुधार्ने प्रतिबद्धता जनाएका थिए । 

सशस्त्र प्रहरीका वर्तमान प्रवक्ता डीआईजी मनिष थापाका अनुसार, यसपटकको छनोटले उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई प्रोत्साहन दिएको छ र यसबाट बलभित्र थप हौसला अभिवृद्धि भएको छ ।

सशस्त्र मुख्यालयले यो वर्ष संयुक्त राष्ट्रसंघको यूएन शान्ति मिसनमा सिधै सहभागी हुने गरी पाँच जना ज–जसलाई सिफारिस गरेको छ, त्यसमा कुनै खोट लगाउने ठाउँ छैन ।

छनोट भएका कर्मचारीमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्का समयमा देशका विभिन्न भागमा १९ पटक खटिई १० जनाको उद्धार र ११ शव निकालिसकेका छन् । उनले दुई जना पर्यटकको जीवितै उद्धार गर्न सफल भएका थिए ।

यसैगरी, सहायक हवलदार भरत काफ्लेले गत चैत १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ मध्ये ५ जनाको रोप रेस्क्यु विधिबाट उद्धार गरेका थिए । उनले विभिन्न घटनामा २० पटक खटिई १५ शव निकालिसकेका छन् ।

यस्तै, सहायक हवलदार मेघबहादुर गुरुङ गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिममा उत्कृष्ट प्रशिक्षकको रूपमा खटिएका छन् । उनले विभिन्न दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकालिसकेको छन् । साथै विदेशी नागरिकको उद्धारमा समेत उनी खटिएका थिए ।

सहायक हवलदार किरणबहादुर भण्डारी गत वर्षको उत्कृष्ट ‘वर्ष जवान–२०८१’ घोषित भएका थिए । उनले आपत् विपदमा नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्धारमा उत्कृष्ट कार्य गरेका छन् ।

यस्तै, सशस्त्र प्रहरी परिचर पुरन राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र १ कास्य गरी १२ पदक जितेर संगठनको नाम उच्च राखेका थिए । 

सशस्त्र प्रहरी बल, नेपालमा यूएन मिसन छनौट (दोस्रो संशोधन) निर्देशिका, २०७३ को परिच्छेद ४ दफा ५ को उपदफा ५ (ख) मा कार्यक्षेत्रमा असाधारण, साहसिक वा वीरतापूर्वक कार्य सम्पादन गर्ने र संगठनको छवि र गरिमालाई उच्च राख्ने गरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई संगठनले शान्ति मिसनमा सहभागिता गराउने उल्लेख छ । प्रत्येक मिसन छनौटमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू छनौटका लागि प्रधान कार्यालयले मातहत मुख्यालय बाहिनीहरू र प्रशिक्षण प्रतिष्ठानलाई कोटा वितरण गरी सशस्त्र प्रहरी कर्मचारीहरूको नाम सिफारिसका लागी पत्राचार गर्ने व्यवस्था रहँदै आएको छ । मुख्यालय बाहिनीहरूले निष्पक्ष रूपमा आ-आफ्नो मातहतबाट नामावली संकलन गरी संकलित नाममध्येबाट पनि सर्वोत्कृष्ट कार्य सम्पादन गरेको कर्मचारीको नाम प्रधान कार्यालय पठाउने गर्दछ । तिनै मुख्यालयहरूबाट प्राप्त नामको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले उत्कृष्ट कार्य कोटाअन्तर्गतको नामावली सिफारिस गर्नुपर्नेमा विगतका वर्षमा चरम अत्याचार हुने गरेको थियो । कार्यक्षेत्रमा ज्यानको बाजी लगाएर काम गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रधान कार्यालयबाट हुने मूल्यांकनमा पूरै बाइपास गर्ने गरिएको थियो । 

गत वर्ष उत्कृष्टको नाममा ६ जना छानिएका थिए । उनीहरूको विगत र वर्तमान हेर्ने हो भने जो कोही पनि अचम्मित हुने अवस्था थियो । उनीहरू कामको आधारमा भन्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, सशस्त्रका उच्चपदस्थ अधिकारीहरूको कोटामा छानिएका थिए ।

गतवर्ष सशस्त्र प्रहरी हबलदार कैलाशचन्द्र अधिकारी, सहायक हबलदार वसन्त बस्नेत, जवान सरिता मुसिख्वाल, सशस्त्र प्रहरी परिचर पवन गुरुङ, परिचर रामेश्वर दुलाल र परिचर हरिकृष्ण धिताल छानिएका थिए । त्यसबेला नम्बर २२ गण हे. क्वा. भक्तपुर दुवाकोटमा कार्यरत सरिता मुसिख्वाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कोटामा परेकी थिइन् । सिसं २३ सशस्त्र प्रहरी जवान बेसिककी मुसिख्वालका श्रीमान् पनि सशस्त्र प्रहरी जवान नै छन् । उनका श्रीमान् त्यसबेला तत्कालीन प्रधानमन्त्री ओलीकी श्रीमतीका चालक थिए । यही पहुँचमा सशस्त्र प्रहरी नेतृत्व सरिता मुसिख्वाललाई उत्कृष्ट कोटामा छनौट गर्न बाध्य भएको थियो । 

यस्तै, त्यसबेला मानवस्रोत विभाग दरबन्दी भई निवृत्तीभरण शाखामा कार्यरत रामेश्वर दुलाल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवं मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालको कोटामा परेका थिए । दाहाल अहिले सीमा सुरक्षा विभागमा सरुवा भइसकेका छन् । 

यस्तै, सशस्त्र प्रहरी परिचर धिताल चाहिँ माली (फूल गोडमेल गर्ने) व्यक्ति हुन् । सशस्त्र प्रहरी महानिरीक्षकको निवासमा कार्यरत उनी आईजीपी अर्यालको कोटामा परेका थिए ।

यसैगरी सशस्त्र प्रहरी हबलदार कैलाशचन्द्र अधिकारी तत्कालीन गृहमन्त्री रमेश लेखकको घरको सवारी चालक थिए । सहायक हबलदार वसन्त बस्नेत तत्कालीन अवस्थामा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सवारी चालकको रूपमा कार्यरत थिए ।

सशस्त्र प्रहरी परिचर गुरुङ त्यसबेला कल्याणकारी सेवा केन्द्रमा कार्यरत थिए । 

कार्य क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीले उच्च मनोबलका साथ कार्य सम्पादन गरुन् भन्ने उद्देश्यका साथ तत्कालीन संगठन प्रमुख कोषराज वन्तले उत्कृष्ट कार्यसम्बन्धी नीति ल्याएका थिए । सशस्त्र प्रहरी संगठन यस किसिमको लापरबाहीका कारण समय समयमा विवादमा मुछिँदै आएको भए तापनि राजु अर्यालले संगठनको जिम्मेवारी सम्हालेपश्चात् तल्लो स्तरका कर्मचारीहरूमा नयाँ उत्साह उत्पन्न हुनुका साथै सुधारात्मक पक्षमा बदलाव आउने आस गरेका थिए । तर गत वर्ष उनले पनि मिसन छनौटमा अपरिपक्वता प्रदर्शनी गरी पुरानै परम्परागत शैलीलाई पछ्याएको देखिँदा सशस्त्र प्रहरी कर्मचारीहरूमा अति निराशा छाएको थियो । भलै आफ्‌नो कार्यकालको अन्तिम वर्ष उनले राम्रो काम गरेका छन् । एककिसिमले भने उनले थिती बसालेका छन् । यही थितिका कारण उनीपछिका संगठन प्रमुखले यसलाई बिगार्ने हिम्मत सहजै गर्न सक्ने अवस्था रहँदैन । यसका लागि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल धन्यवादका पात्र बनेका छन् ।

यो पनि हेर्नुहोस् सशस्त्रमा ‘यूएन मिसन उत्कृष्ट कर्मचारी छनौट’मा चरम बदमासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?