मकवानपुर । बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीका प्रतिनिधिले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न आग्रह गरेका हुन् ।
विपक्षी दलहरूले सरकार सांसदप्रति उत्तरदायी नभएको र लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोप पनि लगाएका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारले जनताको आवाज उठाउने थलो प्रदेशसभालाई लामो समय बन्द गर्न नहुने नियमलाई पालना गर्नुपर्छ ।’ ज्ञापनपत्रमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दल नेता शैलेन्द्रमान बज्राचार्यको हस्ताक्षर रहेका छन् ।
यदि सरकारले अधिवेशन बोलाउने काम नगरे प्रदेशसभा नियमावलीअनुसार एक चौथाइ सांसदको निवेदनमा विशेष अधिवेशन वा बैठक बोलाउन सकिने प्रक्रिया अपनाइने छ । उनीहरूले ‘जेनजी विद्रोह’ पछि देश संकटमा रहेको र संघीय संसद्समेत विघटन भएको अवस्थामा प्रदेशसभालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया