जेनजीहरुले स्वर परिवर्तन गर्न थाले : चिरिबाबु महर्जन

लोकपथ
133
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजी युवाहरूले पछिल्लो समय आफ्नो स्वर परिवर्तन गर्दै निर्वाचन हुन नदिने कुरा गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले वर्तमान अन्तरिम सरकारको मुख्य दायित्व फागुन २१ गतेको निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताए । तर पछिल्लो समय केही जेनजी समूहबाट निर्वाचन हुन नदिने अभिव्यक्ति आउन थालेकोप्रति उनले असन्तुष्टि जनाए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । तर पछिल्लो कालखण्डमा जेनजीले स्वर परिवर्तन गर्दै चुनाव हुन दिँदैनौँ भन्न थालेका छन् । यस्तो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ ।’

मेयर महर्जनले देशको राजनीतिक प्रणालीलाई स्थिरतातर्फ लैजान निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै निर्वाचनमार्फत अहिले देखिएको ‘डिरेल’ अवस्था सुधार गर्नुपर्ने बताए । त्यसका लागि जेनजी युवाहरूले समेत सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

‘निर्वाचन सफल बनाएर देशलाई सही ट्रयाकमा ल्याउने मुख्य दायित्व सबैको हो । त्यसमा जेनजीहरुले पनि सहयोग गर्नैपर्छ, ‘उनले भने ।

महानगर प्रमुख महर्जनले जेनजीहरुको राजनीतिक चेतना अझै परिपक्व हुन बाँकी रहेको टिप्पणी गर्दै लोकतान्त्रिक अभ्यास सुदृढ गर्न निर्वाचन प्रक्रियामा सहकार्य आवश्यक रहेको जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?