हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन, भन्छन्, ‘उहाँको पृष्ठभूमिबारे मलाई थाहा भएन’ 

लोकपथ
651
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सो पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन् । कर्तव्य ज्यान र ज्यानसम्बन्धी कसूरसमेतमा फरार रहेका लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि अध्यक्ष साम्पाङले उनलाई निलम्बन गरेका हुन् । 

कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट समेत चिनिने उनलाई सीआईबीले पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकबाट भिडिओ सन्देश जारी गरी उनलाई निलम्बन गरिएको जानकारी दिएका हुन् । सीआईबीले सोमबार लामालाई पक्राउ गरेको हो । 

भिडिओ सन्देशमार्फत साम्पाङले उनको पृष्ठभूमिबारे आफू अनविज्ञ रहेको बताउँदै भनेका छन्, ‘उहाँ माओवादी पार्टीमा आबद्ध भएर धेरै लामो समयसम्म विभिन्न खालका पार्टीहरू, विभिन्न खालका राजनीतिक अभियानहरूमा संलग्न हुँदै आउनुभएको भन्ने मैले चाहिँ थाहा पाएको छु । उहाँ निर्दोष भएर बाहिर ननिस्कुन्जेलसम्म उहाँलाई पार्टीको पदबाट निलम्बन गरेको कुरा म जानकारी गराउन चाहन्छु ।’

साम्पाङले लामामाथि निष्पक्ष छानबिन गर्न आग्रह पनि गरेका छन् । 

धनकुटा घर भई कपन बस्ने ५० वर्षीय  लामाविरुद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विस्फोट गराएको आरोप छ । त्यस घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते समेत भएका थिए ।

कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुर समेतमा फरार रहेका उनलाई सुरुमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको थियो । उनलाई सुरुमा कर्तव्य ज्यान र ज्यानसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइएको थियो । त्यसपछि उनलाई केन्द्रीय कारागार नख्खुमा चलान गरिएको थियो । उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दा भने कायमै थियो । सो मुद्दामा उनी फरार देखिएका थिए । उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?