यातायात बन्द नगरिकनै निर्वाचन गर्ने आयोगको तयारी

लोकपथ
315
Shares

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ ।

मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन तयारीबारे जानकारी दिए ।

उनले विगतका निर्वाचनहरुमा दलहरुले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए ।

विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ ।

उनले भने, ‘हामी सकेसम्म यो पटक निर्वाचनको दिनपनि सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ । गामीमा नचाहिने मान्छेहरु ओसारपोसार गर्छन् भनेर हामीले विगतमा सवारी आवागमनमा रोक लगाउने निर्णय गर्ने गरेका थियौँ । तर संसारमा कतैपनि यातायात बन्द गरेर निर्वाचन हुदैन भन्ने छ । तर हामीकहाँ त्यो कुरा लागू हुदैन । स्थानीय तहमा राजनीतिक दलहरु र उम्मेदवारहरुले पनि भोटरहरुलाई मतदानस्थलमा लैजाने व्यवस्था मिलाउन सक्छन् । तर निर्वाचन आयोगले नै बस नै चलाएर अपांगता भएका लगायतका व्यक्तिहरुलाई सेवा दिनसक्ने अवस्था छैन ।’

उनले स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्‍याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैँले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?