काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीनै जना एआईजीको सरुवा गरेको हो ।
सशस्त्र प्रहरीमा एआईजी प्रमुख हुने मानवस्रोत, कार्य र सीमा सुरक्षा गरी तीन वटा विभाग रहेको छ ।
स्रोतका अनुसार एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका नारायणदत्त पौडेललाई कार्यबाट मानवस्रोत, दोस्रो वरीयताका बंशीराज दाहाललाई मानवस्रोतबाट सीमा सुरक्षा र तेस्रो वरीयताका गणेशबहादुर ठाडा मगरलाई सीमा सुरक्षाबाट कार्यविभागमा सरुवा गरिएको छ ।
सामान्यतः एक वर्षमा हुनुपर्ने एआईजीको सरुवा यो पटक साढे १५ महिनापछि भएको हो ।
२०८१ साल भदौ १३ गते बसेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले एआईजी दाहाललाई कार्य विभागबाट मानवस्रोत, पौडेललाई सीमा सुरक्षाबाट कार्य र चन्द्रप्रकाश गौतमलाई मानवस्रोतबाट सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो । गौतमले भने अवकाश पाइसकेका छन् । उनको ठाउँमा ओली सरकारले ठाडामगरलाई बढुवा गरेको थियो । साथै तत्कालीन सरकारले गौतमले सम्हाल्दै आएको सीमा विभागमा ठाडामगरलाई पदस्थापन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया