ठूला कर्पोरेट हाउसका सञ्चालकहरुले श्रमिकको अधिकार खोसे : अध्यक्ष सिम्खडा

लोकपथ
42
Shares

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष जगतबहादुर सिम्खडाले ठुला कर्पोरेट हाउस तथा मल्टीनेशनल कम्पनीहरूले श्रमिक शोषण गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरू श्रमिकलाई अधिकार दिन नमान्ने गरेको दाबी गरे । श्रमिकलाई अधिकार दिनुपर्ने बाध्यताबाट बच्न पछिल्लो समय स्थायी श्रमिक हटाएर अस्थायी श्रमिकमार्फत काम गराउने प्रवृत्ति बढ्दै गएको उनको भनाइ छ ।

सिम्खडाका अनुसार स्थायी श्रमिकलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने, प्रत्येक दुई वर्षमा तलब वृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा लागू गर्नुपर्ने कानुनी व्यवस्थाबाट पन्छिन ठुला भनिएका होटेल तथा कम्पनीहरूले आउटसोर्सिङमार्फत श्रमिक भर्ना गर्ने गरेका छन् । यसले श्रमिकहरू थप मारमा परेको उनले बताए ।

उनले ठुला कर्पोरेट हाउस तथा कतिपय मल्टीनेशनल कम्पनीद्वारा सञ्चालित होटलहरूमा श्रमिकले पाउने १० प्रतिशत सेवा शुल्कसमेत नदिइने गरेको आरोप लगाए । श्रम ऐनले दिएको सामूहिक सौदाबाजी, न्यूनतम तलब र सामाजिक सुरक्षाको अधिकार प्रयोग गर्न खोज्ने श्रमिकलाई स्थायी राख्न नचाहने प्रवृत्ति देखिएको उनको भनाइ छ ।

कार्यक्रममा उनले श्रमिकहरूले रोजगारदाताको लगानी र सुरक्षाको चासो राखे पनि रोजगारदाताहरूले श्रमिकलाई सधैँ बेवास्ता गर्ने गरेको गुनासो गरे । श्रमिक अधिकारको सुनिश्चितता नगरेसम्म श्रम क्षेत्रमा समस्या कायमै रहने उनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?