काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्यभन्दा कम भएको छ । अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्य निर्धारण गरिएको छ । सोअनुसार मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा मंसिर २० गतेसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र राजश्व उठेको छ ।
मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएको थियो । तर सो अवधिमा ८० अर्ब २७ करोड रुपैयाँ मात्रै संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ, जुन लक्ष्यको ८४ दशमलव ३१ प्रतिशत हो । मन्त्रालयका अनुसार मंसिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वार्षिक राजश्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । उक्त वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजश्व उठेको थियो । अघिल्लो वर्ष मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा राजश्व संकलनमा दबाब देखिएको हो । साथै पछिल्लो समय देखिएको जेनजी आन्दोलनका कारण उद्योग–धन्दा प्रभावित हुँदा त्यसको असर राजश्व संकलनमा समेत परेको सरकारी अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया