काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाहमा पक्राउ परी कैदबापतको रकम बुझाएर छुटेका शेर्पाको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको हो ।
उनलाई एक वर्ष जेल र ५ हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको थियो । गत कात्तिक १८ गते काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका उनी कैदबापत दिनको ३ सय रुपैयाँको दरले १ लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटेका थिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार उनी कारागारबाट रिहा भएका थिए । कैदबापतको रकम तिरेर निस्किन पाउँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए ।
१० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनले यो महाधिवेशनमा पनि उम्मेदवारी दिएका थिए ।
उनको उक्त मुद्दाबारे एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् ।
अशोक राईसँग छुटेर पछि उनी डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया