काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) को आगामी सिजन खेल्ने भएका छन् । विश्वभरका फ्रेन्चाइज लिगमा चर्चा बटुलेका सन्दीपलाई यो सिजनका लागि राजशाही वारियर्सले टोलीमा भित्र्याएको हो ।
वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई भित्र्याएको सार्वजनिक गर्दै नेपाललाई विशेष सम्मान दिएको छ । टोलीले भनेको छ, ‘नेपालले खेल मात्र हेर्नेछैन, प्रतियोगिताको हिस्सासमेत हुनेछ ।’
सन्दीप लामिछानेले आगामी आईसीसी टी–२० विश्वकपको तयारीका रूपमा यो फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दा उनको प्रदर्शनमा थप निखार आउने अपेक्षा गरिएको छ ।
सिजनको बीपीएल यही पुस ११ गते (९ डिसेम्बर २६)बाट सुरु हुँदैछ । ६ टोलीबीच हुने यस लिगको उद्घाटन खेलमा सन्दीपको टोली राजाशाहीले सिलेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
बीपीएलमा सन्दीपको यो दोस्रो सहभागिता हो । यसअघि उनले सन् २०१९ मा सिलेट सिक्सर्सका लागि खेलेका थिए । राजशाही वारियर्सको टोलीमा न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम लगायतका अन्तर्राष्ट्रिय खेलाडीहरू पनि रहेका छन् ।
लेग स्पिनर सन्दीप लामिछाने विश्वका धेरै प्रमुख टी–२० लिग खेल्ने नेपाली क्रिकेटर हुन् । उनले भारतको आईपीएलसहित अस्ट्रेलियाको बीबीएल, पाकिस्तानको पीएसएल, वेस्ट इन्डिजको सीपीएल, अफगानिस्तानको एपीएल र क्यानडाको ग्लोबल टी–२० जस्ता प्रतिष्ठित लिगहरूमा आफ्नो उपस्थिति जनाइसकेका छन् ।
वारियर्सले सन्दीपको यही विश्वव्यापी अनुभवले गर्दा टोलीलाई यस सिजनमा लक्ष्य हासिल गर्न महत्ववपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया