ओली भर्सेज ईश्वर पोखरेल : ‘तटस्थ मत’ निर्णायक बन्न सक्छ  

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११औँ महाधिवेशनका लागि निर्वाचन आयोगले आज सोमबार बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । जसमा भोलि मतदान हुने कार्यतालिका छ । महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारीका १९ र केन्द्रीय सदस्यका ३०१ पद चयन हुँदै छन् । 

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर महाधिवेशनमा होमिने निश्चित भइसकेको छ । यो सामाग्री तयार पार्दासम्म पोखरेल पक्षले पदाधिकारीमा केही नाम निश्चित गरिसकेको छ । ओली पक्षबाट कुनै पनि नाम निश्चित गरिसकिएको छैन । यद्यपि, ओली पक्षबाट पदाधिकारीका उम्मेदवार को को हुनेछन् भन्ने निश्चित जस्तै छ । महासचिवको उम्मेदवार टुंगो लागेलगत्तै ओलीपक्षको सूची सार्वजनिक हुनेछ । 

यो पटक जहाँ एमालेको बन्दसत्र चलिरहेको छ, यो त्यही ठाउँ हो, जहाँबाट ओली पहिलो पटक अध्यक्षमा विजयी भएका थिए । ११ वर्षअघि भएको नवौँ महाधिवेशनबाट ओली यही मञ्चबाट माधवकुमार नेपाललाई ४४ मतको साँघुरो अन्तरले पहिलो पटक नेतृत्वमा निर्वाचित भएका थिए । दशकअघिको नवौँ महाधिवेशनमा ओली र माधवकुमार नेपाल समूहले प्यानल नै बनाएर अध्यक्षसहित पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गरेकोमा  समग्र पदाधिकारीमा दुवै पक्षका सात–सात जना निर्वाचित भएका थिए । 

नवौँ महाधिवेशनमा थोरै मतान्तरले विजयी भएका ओलीलाई १० औँ महाधिवेशनबाट पुनः दोहोरिन खासै समस्या परेन । एक किसिमले भन्ने हो भने, त्यसबेलाको निर्वाचन नाम मात्रैको थियो । उनीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलले २ सय २३ मत ल्याउँदा उनले १ हजार ८ सय ३७ मत पाएका थिए । चितवनको सौराहामा २०७८ सालमा भएको १०औँ महाधिवेशन ओलीका लागि सहज साबित भयो ।

नवौँ र १० औँ महाधिवेशनको फरक के थियो भने नवौँमा माधवकुमार नेपाल प्यानलसहित खडा भएका थिए । दसौँमा रावल प्यानलबेगर उठेका थिए । यी दुवै महाधिवेशनमा उनीसँग अध्यक्षमा लडेका नेपाल र रावल दुवै जना अहिले एमालेमा छैनन् । नेपाल र रावल दुवै जना अहिले नेपाली कम्युनिस्ट पार्टीको यात्रामा सँगै छन् । 

एक दशकपछि तेस्रो पटक पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्न लागेका ओलीले यो पटक पनि मतदानका लागि आफू पहिलो पटक अध्यक्ष बनेको भृकुटीमण्डप नै रोजेका छन् । भलै महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा किन नहोस् । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा राखिएको छ । 

यो पटकको प्रतिस्पर्धामा नवौँ महाधिवेशनमा ओली पक्षबाट उपाध्यक्ष बनेका विद्या भण्डारी र वामदेव गौतम, महासचिव बनेका ईश्वर पोखरेल, उपमहासचिव बनेका घनश्याम भुसाललगायतका अधिकांश नेताहरू एमालेमा छैनन् । उल्लेखित नाममध्ये एमालेमा रहेका एक जना ईश्वर पोखरेल उनैलाई टक्कर दिन अघि सरेका छन् । भण्डारी राष्ट्रपति बनेपछि एमालेको राजनीतिबाट अलग बनेकी थिइन् । राष्ट्रपतिको दुई कार्यकाल सकिएपछि एमालेकै राजनीति गर्ने चाहना राखेकी उनलाई ओलीले आफ्‌नो प्रतिस्पर्धी ठान्दै छेउमै पर्न दिएनन् । कुनै समय आफू निकट रहेकी भण्डारीको पार्टीमा पुनरागमन गर्ने प्रयास ओलीले नै रोकिदिएका थिए । 

वामदेव गौतम अहिले माधवकुमार नेपाल र झलनाथ खनालसँगै नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । घनश्याम भुसाल अर्कै ढंगले राजनीति गरिरहेका छन् । 

रमाइलो यो छ कि, अहिले ओलीलाई चुनौती दिइरहेका पोखरेल दशकअघि भृकुटी मण्डपबाट ओली अध्यक्षमा चुनाव लड्दा उनकै समूहबाट महासचिवमा निर्वाचित भएका नेता हुन् । उनलाई त्यस बेला उपाध्यक्षमा निर्वाचित भएकी र राष्ट्रपति बनेपछि पार्टीको प्रत्यक्ष राजनीतिबाट अलग रहेकी विद्या भण्डारीले समर्थन गरेको तथ्य बाहिर आएको छ । 

त्यसैले यो महाधिवेशनलाई ओली भर्सेज भण्डारीका रूपमा पनि हेरिएको छ । हालसम्म प्राप्त रिपोर्टका आधारमा ओली नै अध्यक्षमा तेहरिने निश्चितजस्तै ठान्छन् ओलीका समर्थकहरू । जिल्ला र प्रवासबाट छानिएर आएका एमाले महाधिवेशन प्रतिनिधिहरूमा आफ्नो समर्थन धेरै रहेको ओली पक्षका नेताहरूले दाबी छ । तर गोप्य मतदान र भदौ २४ पछिको फेरिएको राजनीतिका कारण यही नै हुन्छ भन्ने निश्चित छैन । तटस्थ मत नै निर्णायक बन्ने अनुमान पनि गरिएको छ । 

पछिल्लो समय ओली र पोखरेल दुवै खेमामा प्रस्ट नखुलेका नेता ठाकुर गैरे बन्द सत्रको माहौल र महाधिवेशन प्रतिनिधिहरूको मनोभाव हेर्दा अध्यक्षमा राम्रै प्रतिस्पर्धा हुने आफूलाई लागेको बताउँछन् । ‘म चाहिँ दुई जना प्रतिस्पर्धामा जाँदा कुनै एक जनाले जित्नुहुन्छ भन्न सकिने स्थिति देख्दिनँ । किनभने मैले भेटघाट गरेका आम प्रतिनिधिहरू चाहिँ रिजर्भ बसिरहेको देखेँ। प्रतिस्पर्धा हुन्छ,’ उनले भने । 

ओली निकट मानिने नेता राजन भट्टराई भने बन्द सत्रको माहौल आफूले ओलीकै पक्षमा देखेको बताउँछन् । ‘हलको माहौल हेर्दा केपी ओलीको आवश्यकता अहिलेको निम्ति छ भन्ने प्रतिनिधिहरूको धारणा बलियो देख्छु,’ उनले भने । 

भट्टराईले अधिकांश महाधिवेशन प्रतिनिधिहरू चयनका क्रममा नै एउटा वा अर्को पक्षमा खुलेका र कतै नखुलेकाको संख्या २० प्रतिशत भन्दा कम रहेको बताए । तर सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने एमाले नेता झपटबहादुर रावल भने यो कुरा मान्न तयार छैनन् । उनी कुनै पक्षमा नखुलेका महाधिवेशन प्रतिनिधिहरूको संख्या ३० प्रतिशत भन्दा धेरै रहेको र ती महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनमा निर्णायक हुन सक्ने ठान्छन् ।

‘दुवै दुई पक्षमा धेरै मानिसहरू खुलेका छन् । अहिले पनि ३२ देखि ३३ प्रतिशत मतदाता मौन छन् । त्यो मत जता खुल्छ उसैले चुनाव जित्ने स्थिति छ,’ रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?