जेनजीका घाइतेले सिंहदरबार प्रवेश नपाएपछि…

लोकपथ
133
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न नपाएपछि जेनजीका घाइतेहरुले सिंहदरबार गेटमै धर्ना दिएका छन् ।

विभिन्न मागसहित आइतबार दिउँसो जेनजीका घाइतेहरु पुगेका थिए । तर सिंहदरबार प्रवेशमा अनुमति नपाएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

जेनजी घाइतेहरूले केहीदिनअघि जारी भएको रिलायन्स स्पीनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड तत्काल रोक्न माग गर्र्दै अर्थमन्त्री खनाललाई भेट्न चाहेका थिए । साथै नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने लगायतका मागहरु लिएर सिंहदरबार पुगेका जेनजीका घाइतेहरुले प्रवेश नै पाएनन् ।

उनीहरूको मागमा धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई छानबिन आयोग गठन गरी तत्काल निलम्बन गर्नुपर्ने, दोषी ठहरिए बर्खास्त गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न सबैलाई कडा कानुनी कारबाही गर्नुपर्ने उल्लेख छ ।
अर्थमन्त्रीलाई भेट्न नपाएपछि माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी जेनजी घाइतेहरूले दिएका छन् ।

त्यसो त यसअघि पनि जेनजीका विभिन्न समूहहरुले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरुलाई भेट्न नपाएको भन्दै सिंहदरबारको प्रवेश गेटमा धर्ना दिने गरेका छन् ।

जेनजीका घाइतेहरुले सरकारले आफ्नो कुरा नसुनेको भन्दै सरकारविरुद्ध नारा लगाउन थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?