काठमाडौं । दुई दिनअघि अर्थात् शुक्रबार बसेको एमाले सचिवालय बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बसेको अन्तिम सचिवालय बैठकमा विधान संशोधनको विषय के हुन्छ भन्ने कौतुलहता थियो ।
अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन पदाधिकारीदेखि केन्द्रीय कमिटीको आकार बढाउन लागेको चर्चा बाहिरिएको थियो । तर त्यसमा केही छलफल भए पनि प्रस्ताव अघि नबढेपछि भने त्यसमा नेताहरुबिच कुनै छलफल नभएको र वातावरण सौहार्द भएको नेताहरुले बताएका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीदेखि सचिव योगेश भट्टराईसम्मले सचिवालय बैठकमा सौहार्द वातावरण भएको बताएका थिए ।
साथै ३ महिना अघि गरिएको विधान महाधिवेशनको भावनालाई मर्न नदिन सोही महाधिवेशनले पारित गरेको विधानकै आधारमा ११औँ महाधिवेशनबाट नेतृत्व चयन हुने भनिएको थियो ।
‘धेरै मिडियाहरुमा नेकपा एमालेले विधान संशोधन गर्छ कि भनेर समाचार पनि आएका थिए । तर यसपटक हामीले विधानको सर्वोच्चतालाई ध्यानमा राखेर जुन विधान पारित भएको छ त्यसकै आधारमा नेतृत्व निर्माण गर्ने अर्थात् २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीसहितको विधानका आधारमा नेतृत्व निर्माण गर्ने हामीले निर्णय गरेका छौँ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए ।
यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट देखिएका सचिव भट्टराईले समेत सोही विषय दोहोर्याएका थिए । उनले भदौ २२ गते सम्पन्न विधान महाधिवेशनको औचित्यलाई कायम राख्नेगरी विधान यथावत राख्ने निर्णय भएको जानकारी दिएका थिए ।
‘आजको बैठकले लामो छलफल गरेर भर्खर ३ महिनाअघि विधान महाधिवेशन गरेको औचित्यलाई पनि हामीले कायम गर्नुपर्यो भन्ने कुराका आधारमा विधान महाधिवेशनले जे पािरत गरेको छ, अहिलेलाई त्यही कुरा कायम गर्ने निर्णय भएको छ,’ उनले भने ।
जसअनुसार विधान महाधिवेशनले पारित गरेको अनुसार १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटि हुने थियो । तर त्यसको दुई दिनपछि अर्थात् आइतबार नै त्यो सौहार्दता भंग भएको छ । यानेकी एमालेले विधान संशोधन गरेर पदाधिकारी १९ र केन्द्रीय कमिटीको आकार ३०१ पुर्याइने भएको हो ।
आइतबारबाट सुरु हुने बन्दसत्रको पूर्वसन्ध्यामा बसेको १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अन्तिम बैठकमा विधान संशोधनको प्रस्ताव पारित भएको छ । त्यस्तै उक्त प्रस्ताव बन्दसत्रमा प्रस्तुत हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘पार्टी विधानमा रहेको केही हेरफेर गरिएको छ । अध्यक्ष एक, पार्टी उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ सचिव गरी १९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव केन्द्रीय कमिटीले महाधिवेशनको हलमा लाँदैछ,’ उनले भने ।
चाहना ओलीको, भनियो जेनजीको भावना
नेताहरुको व्यवस्थामा कठिनाइ परिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा उक्त विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाइएको छ । तर नेताहरुले भने जेनजी युवाहरुको भावना समेट्ने भन्दै केन्द्रीय कमिटीको आकार बढाउने निर्णय भएको दाबी गरिरहेका छन् ।
खासगरी जेनजी आन्दोलन हुँदा सरकारको नेतृत्व गरेको एमाले जेनजी र त्यस आन्दोलनबाट सबैभन्दा आलोचित एमालेका नेताहरु जेनजी र जेनजी आन्दोलनप्रति अझै कटाक्ष गरिरहेका सुनिन्छन् । केन्द्रीय कमिटीमा युवाहरुको प्रतिनिधित्व भनिरहँदा १०औँ राष्ट्रिय महाधिवेशनमा ओलीको विरुद्ध लाग्ने नेताहरुलाई जिम्मेवारी वीहिन बनाइएको उदाहरण समेत प्रशस्त भेटिन्छ । तर प्रचार विभाग प्रमुखले भने आगामी केन्द्रीय कमिटीमा जेनजी र युवाहरुको भावना समेट्नका लागि केन्द्रीय कमिटीको आकार बढाइएको दाबी गर्छन् ।
‘केन्द्रीय कमिटीमा आजको जेनजी पुस्तालाई समेत ध्यानमा राखेर, युवाहरुको उपस्थितिलाई समेत ध्यानमा राखेर प्रस्तुत गरिएको २५१ सदस्यीय केन्द्रीय कमिटीमा हेरफेर गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव महाधिवेशनमा जाँदैछ । त्यसको त्यसको एक तिहाइ ९९ देखि १०१ सम्मको पोलिटब्यूरो र त्यसको पनि एक तिहाइ ९९ हुँदा ३० देखि ३३ सम्मको स्थायी समिति रहने गरी हाम्रो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेर महाधिवेशनको हलमा जाँदैछ,’ उनले भने ।
शुक्रबारको सौहार्दता आक्रोशमा परिणत
शुक्रबार करिब ५ घण्टा बसेको केन्द्रीय सचिवालय बैठक भद्रताका साथ अघि बढेको नेताहरुले बताएका थिए । तर त्यसको दुई दिनपछि नै अध्यक्ष ओली र अध्यक्षको दाबेदारी गरिरहेका ईश्वर पोखरेलबिचको सौहार्दता आक्रोशमा परिणत भएको छ ।
ओलीले विधान संशोधनको प्रस्ताव राखेसँगै पोखरेलले विधान महाधिवेशनको औचित्यबारे प्रश्न उठाएका थिए । उनले विधान संशोधनको प्रस्तावमा आपत्ति मात्रै जनाएनन् २ कार्यकाल र ७० वर्षीय हदम्यादको विषयलाई समेत अघि सार्नुपर्नेमा जोड दिएका थिए ।
‘के हाम्रो विधान अस्थायी हो ? जे अनुकूल हुन्छ, त्यही गर्दै जाने हो ? हिजो विधान महाधिवेशनअगाडि संख्या घटाऊँ भन्ने तपाईंहरू नै होइन ? वैधानिक विषयअनुसार चलौँ, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौँ। दाँयाबायाँ नगरौँ’, पोखरेलले बैठकमा भनेका थिए ‘२ कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरू बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ?’
त्यसो शनिबार भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सोमबारसम्म चल्नेछ । केहीबेरअघि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । आगामी नेतृत्वका लागि ओलीकै निरन्तरता कि ईश्वर पोखरेलको उदय भन्ने बहस एमाले र राजनीतिक वृत्तमा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया