सरकार निर्वाचनको तयारीमा केन्द्रित छ : कानूनमन्त्री सिन्हा

लोकपथ
49
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारले निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा १९औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन संसद सेवा कर्मचारीहरूको योगदान महत्वपूर्ण हुने बताए ।

मन्त्री सिन्हाले कानूनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य बनाउने उद्देश्यले सरकारले अध्ययन सुरु गरेको जानकारी दिए ।

उनले कानून निर्माणमा संघीय संसदको सुझाव उपयोगी हुने विश्वास व्यक्त गर्दै संसद सेवा कर्मचारीहरूको भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

सिन्हाले भने, ‘हामी निर्वाचनको तयारीमा छौँ। निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन सबैको सहयोग आवश्यक छ। संसद सेवा संघीय संसदको विशेष सहयोगीको रूपमा रहेको सेवा हो र यसले संघीय संसदको कामलाई व्यवस्थित र प्रभावकारी बनाउँछ ।’

उनले कानून मन्त्रालयका तर्फबाट कानूनका शब्द र भाषालाई सरल बनाउन पहल थालिएको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?