संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा ठूलो योगदान गरेको छ : उपाध्यक्ष घिमिरे

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएकी छन् ।

संसद् सेवा दिवस-२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

उपाध्यक्ष घिमिरेले मौलिक ढंगले संसदीय परिपाटी सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिइन् । लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै त्यसको लाभ जनस्तरसम्म पुर्‍याउनु आजको आवश्यकता रहेको उनले उल्लेख गरिन् । संसद् जनउत्तरदायी, पारदर्शी र प्रभावकारी छ कि छैन भन्ने विषयमा नियमित समीक्षा हुनुपर्ने उनको भनाइ छ ।

उनले संसद्लाई अझ प्रभावकारी बनाउन सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबिच साझा प्रयास आवश्यक रहेको बताइन् । ‘संसद् बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ र जनताले सुशासनको अनुभूति गर्न सक्छन्, ‘उनले भनिन् ।

सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुनःस्थापना गर्न सकिने उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले यसले लोकतन्त्रलाई बलियो बनाउने र जनतामा विश्वास जागृत गराउने बताइन् । जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास पनि अपरिहार्य रहेको उनको भनाइ छ ।

संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था भएको उल्लेख गर्दै उनले नेपालले लामो संघर्षपछि लोकतन्त्र र सङ्घीय प्रणाली अवलम्बन गर्दै संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि निकायका रूपमा स्थापित गरेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?