सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणको अभियान अघि बढेको बताएका छन् ।
आज वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक दाहालले नेता–कार्यकर्ताको उत्साहजनक सहभागिताका साथ पार्टीलाई देशकै एक नम्बर शक्ति बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । कर्णालीले देखाएको माया र समर्थनले आफू थप उत्साहित भएको पनि उनले उल्लेख गरे ।
उनले १४ भन्दा बढी दल मिलेर विगतका गल्ती सच्याउँदै अगाडि बढ्ने संकल्प गरिएको भन्दै देशका विभिन्न स्थानमा आयोजित एकता सभामा देखिएको जनसहभागिताले अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । विसं २०४१–४२ देखि नै माधवकुमार नेपाल र आफूबिच पार्टी एकताबारे छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वको समयमा पनि निरन्तर संवाद भइरहेको दाहालले बताए ।
प्रचण्डले भने, ‘हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ। सशस्त्र युद्ध सुरु भएको दुई वर्षपछि नै देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको थियो। एमाले र माओवादीबिच सहमति भएपछि मात्र १२ बुँदे सहमति सम्भव भएको हो। करिब ४० वर्षदेखि एकताका प्रयास हुँदै आएका छन् ।’
कर्णालीलाई नेपाली सभ्यताको जननी, जडीबुटी र जलस्रोतको भण्डारको रूपमा उल्लेख गर्दै उनले यहाँको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण तयार गर्न पार्टी क्रियाशील रहेको उनको भनाइ थियो।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलग–अलग दललाई एकै ठाउँमा ल्याएर राजनीतिमा महत्त्वपूर्ण काम भएको र यसले कार्यकर्ता तथा जनतामा नयाँ उत्साह थपिएको बताए । उनले जनताको हित र देशको समृद्धिका पक्षमा काम गर्ने पार्टीका रूपमा नेकपालाई स्थापित गरिने धारणा राखे ।
सहसंयोजक नेपालले भने, ‘देशका हरेक महत्त्वपूर्ण मोडमा हामी सही ठाउँमा उभिँदै आएका छौँ। जनतालाई देशको वास्तविक मालिक बनाउन लोकतन्त्र र गणतन्त्र आवश्यक छ। त्यसैले देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्र हितको पक्षमा उभिने देशभक्त पार्टीका रूपमा नेकपालाई स्थापित गर्न हामी लागिरहेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया