काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाउँदै नयाँ समझदारीको माध्यमबाट देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले तीन ठुला राजनीतिक उपलब्धि २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलिय व्यवस्था र २०६२/०६३ सालको समावेशी व्यवस्थालाई सबैले स्वीकार गर्नुपर्ने बताए । लिङदेनले भने, ‘यी उपलब्धि जोगाएर राजनीतिक दल, परम्परागत शक्ति र नवपुस्ताबिच समझदारी गर्नुको विकल्प छैन ।’
उनले भदौ २३ र २४ गतेको घटनालाई निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी र संवैधानिक अंगहरुमा दलियकरण जस्ता कारणले उत्पन्न भएको विद्रोह भएको उल्लेख गरे । तर अब देशलाई हार–जीतको सन्दर्भमा नभई देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।
लिङदेनले संविधानलाई मरिसकेको बताउँदै, त्यसलाई बलपूर्वक लागू गर्नुभन्दा नयाँ समझदारीका आधारमा देशलाई अघि बढाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरूलाई मिलेर देश निर्माणमा योगदान दिन आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया