एमालेलाई देव गुरुङको प्रस्ताव : ‘देश संकटमुक्त गराउन मिलेर अघि बढौँ’

लोकपथ
217
Shares

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकता अपरिहार्य भएको बताएका छन् । 

शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहमा उनले मुलुकलाई संकटबाट निकाल्न सबै कम्युनिष्ट शक्तिबिचको सहकार्य अनिवार्य रहेको बताएका हुन् ।

नेता गुरुङले मुलुकको राष्ट्रियता संकटमा पुगेको औँल्याउँदै वृहत्तर कम्युनिष्ट एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरूसँगको सहकार्यमार्फत मात्र समस्या समाधान सम्भव हुने बताए । उनले भने, ‘फेरि पनि कम्युनिष्टहरुको एकीकरणको विकल्प छैन। वामपन्थीहरुको एकताको विकल्प छैन। लोकतन्त्रको रक्षा, मुलुकको राष्ट्रियता र आर्थिक–सामाजिक रूपान्तरणका लागि सबै शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्न आवश्यक छ ।’

गुरुङले नेपाली कम्युनिष्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिष्ट शक्तिसँग एकताको अभियान सञ्चालन गर्दै आएको र आगामी एमाले महाधिवेशनले पनि सोही प्रस्ताव पारित गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । उनले मार्क्सवाद–लेनिनवादको मार्ग निर्देशनको आधारमा पार्टीहरूबिच एकीकरण गर्दै समाजवादी क्रान्ति र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने धारणा राखे ।

उनले महाधिवेशनमार्फत भावी कम्युनिष्ट पार्टीको एकीकरणका लागि महत्त्वपूर्ण निर्णय लिन सकिने विश्वास व्यक्त गर्दै पार्टी एकीकरणको अभियानमा सबैलाई एकसाथ लाग्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?